मस्कको बचाउ गर्दै ट्रम्पले भने-सेनाको भ्रष्टाचारको फाइल खोल्छु

मस्कको बचाउ गर्दै ट्रम्पले भने-सेनाको भ्रष्टाचारको फाइल खोल्छु


काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीले अर्बपति एलन मस्कमाथि गरेको आक्रमणको जवाफ दिएका छन् । उनले मस्कले अमेरिकामा फजुल खर्च रोक्न काम गरिरहेको र उनको कुनै स्वार्थी मनसाय नभएको स्पष्ट पारेका हुन् ।

यसअघि अमेरिकाको विपक्षी डेमोक्रेटिक पार्टीले ट्रम्प प्रशासनले सुझाव दिएका परिवर्तनहरूले मस्कलाई व्यक्तिगत फाइदा पुग्ने आरोप लगाएको थियो । मस्कको बचाउमा राष्ट्रपति ट्रम्पले भने, ‘उनी (मस्क) ले यसबाट केही पाउँदैनन् । वास्तवमा उनले यसको लागि कसरी समय निकाल्छन् भन्ने कुरामा म हैरान छु ।’

ट्रम्पले मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभागले सैन्य र शिक्षा विभागको खर्चको अनुसन्धान गर्ने जानकारी दिए । यो काम आगामी २४ घण्टाभित्र सम्पन्न हुन सक्ने सम्भावना छ । ट्रम्पले भने, ‘हामी सेनामा भएको अर्बौं डलरको भ्रष्टाचारको पर्दाफास गर्नेछौँ । जनताले मलाई त्यसैका लागि जिताएका हुन् ।’