ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको लोभ, ६ वटा युद्ध रोकेको दाबी

ट्रम्पलाई नोबेल शान्ति पुरस्कारको लोभ, ६ वटा युद्ध रोकेको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका ६ वटा द्वन्द्व समाधान गरेको दाबी गरेका छन्।

शुक्रबार आर्मेनिया र अजरबैजानबिच झण्डै ४ दशक पुरानो नागोर्नो–काराबाख द्वन्द्व समाप्त भएको ऐतिहासिक घोषणा भएको छ। ट्रम्पले यो उपलब्धिलाई विश्वका लागि ऐतिहासिक भनेका छन्।

अप्रिल २०२५ मा भारत र पाकिस्तानबिच पहलगाममा भएको आतंकवादी हमलापछि चार दिनसम्म चलेको तनाव रोकेको उनको दाबी छ। तर भारतले यो अस्वीकार गरेको छ। पाकिस्तानले भने अमेरिकी मध्यस्थताले युद्ध रोकेको बताएको छ।

जुन १३, २०२५ मा इजरायलले इरानमाथि सैन्य र आणविक प्रतिष्ठानमा आक्रमण गरेपछि १२ दिनसम्म चलेको द्वन्द्व समाधानमा समेत आफ्नो भूमिका रहेको ट्रम्पको दाबी छ ।

जुलाई २०२५ मा थाइल्याण्ड र कम्बोडियाबिच प्रसात ता मुएन थोम मन्दिर नजिकैको सीमा विवादबाट भएको पाँचदिने झडप रोकेको दावा उनको छ।

त्यस्तै, उनले रुवाण्डा र कंगोबिच २०२३ मा एम२३ विद्रोही समूहले सुरु गरेको हिंसा पनि रोकेका छन्। सर्बिया र कोसोभोबिच २०२३ मा बान्ज्स्कामा भएको हिंसात्मक झडप पनि समाधान गरेको ट्रम्पको दाबी छ।

इजिप्ट र इथियोपियाबिच नाइल नदीको ग्रान्ड इथियोपियन रिनेसान्स बाँधलाई लिएर २०२० देखि चलेको विवाद २०२५ को जुनमा समाधान गरेको उनले बताएका थिए।

ट्रम्पले यी शान्ति प्रयासलाई विश्व स्थिरताको आधार मानेका छन्। उनी युक्रेन–रुस युद्ध समाधान गर्न अगस्त १५ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्कामा वार्ता गर्ने तयारीमा छन्। उनले नोबेल शान्ति पुरस्कारको दाबी पनि पटकपटक गर्दै आएका छन्। उनलाई पाकिस्तान, इजरायल, कम्बोडिया, आर्मेनिया र अजरबैजानले समेत समर्थन गरेका छन्।

ट्रम्पलाई अजरबैजान र आर्मेनियाले पनि नोबेल शान्ति पुरस्कारका लागि समर्थन गरेका छन् । आर्मेनिया र अजरबैजानबीच शान्ति सम्झौतामा हस्ताक्षर भएपछि अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभ र आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिनयानले उनलाई नोबेल शान्ति पुरस्कार दिनुपर्ने बताएका छन् ।

आर्मेनिया र अजरबैजानबीच शान्ति सम्झौतामा हस्ताक्षर गराउने क्रममा ट्रम्पले ‘राष्ट्रपतिको रूपमा मेरो उच्चतम आकांक्षा विश्वमा शान्ति र स्थिरता ल्याउनु हो ’ भनेका थिए ।