काठमाण्डु – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा मन्त्रालयलाई ‘युद्ध मन्त्रालय’का रूपमा पहिचान दिनेगरी निर्देशन दिएका छन्।
शुक्रवार उनले एक कार्यकारी आदेश जारी गर्दै रक्षा मन्त्रालयलाई दोस्रो नयाँ नामको रूपमा प्रयोग गर्न रक्षामन्त्री पिट हेग्सेथलाई युद्ध मन्त्रीको रूपमा प्रयोग गर्न भनेका छन् ।
अमेरिकी सेना हेर्ने पेन्टागनलाई त्यसअघि युद्ध मन्त्रालय भनिन्थ्यो। जुन सबैभन्दा पहिले सन् १७८९ मा क्याबिनेट निकायको रूपमा स्थापित भएर सो नाममा सन् १९४७ सम्म अस्तित्वमा थियो।
कार्यकारी मन्त्रालयहरू सिर्जना गर्ने जिम्मेवारी अमेरिकी कङ्ग्रेसमा छ जसको अर्थ ती मन्त्रालयको नाम कानुनतः परिवर्तन गर्न संशोधन आवश्यक पर्नेछ।
उक्त कार्यकारी आदेशको पाठमा भनिएको छ, ‘युद्ध मन्त्रालय’ नामले रक्षा मन्त्रालयुको तुलनामा तत्परता र दृढ सङ्कल्पको बलियो सन्देश दिन्छ जसले केवल रक्षात्मक क्षमताहरूमा जोड दिन्छ।’
‘कठिन समयमा आत्मविश्वास, दृढसङ्कल्प र दृढ विश्वास’ स्थापित गर्न आदेशले रक्षा मन्त्री, उनको मन्त्रालय र मातहतका अधिकारीहरूलाई नयाँ नाम दोस्रो नामको रूपमा प्रयोग गर्ने अधिकार दिएको छ।
युद्ध मन्त्रालय जर्ज वाशिङ्टनले स्थापना गरेका थिए र त्यसलाई दोस्रो विश्वयुद्धपछि नयाँ नाम दिइएको थियो।
स्थायी रूपमा पुनः ब्रान्डिङ गर्दाको खर्च कति हुनेछ भनेर ह्वाइटहाउसले अझै बताएको छैन।
तर अमेरिकी सञ्चारमाध्यमहरूले सयौँ निकाय, निशान छाप, इमेल ठेगानाहरू, पोसाकहरू र थप अन्यको पुनर्संरचनाको लागि अर्बौँ डलर खर्च हुने ठानिएको जनाएका छन्।
जसले खर्च र अनावश्यक कुरा घटाउने पेन्टागनको प्रयासलाई बाधा पुर्याउन सक्छ। ट्रम्पले बारम्बार नाम फेर्ने मनसाय प्रस्तुत गर्दै आएका थिए। जस क्रममा उनले पहिलेको नाम अन्तर्गत अमेरिकाले दुवै विश्वयुद्धमा विजयको अविश्वसनीय इतिहासू पाएको तर्क गर्ने गर्थे।
सांसदहरूले यस्तो परिवर्तनलाई समर्थन गर्ने आशा समेत उनले व्यक्त गरेका छन्। यो नाम परिवर्तनसम्बन्धी यस कदम राष्ट्रपतिले पदभार ग्रहण गरेयता हस्ताक्षर गरेको २००औँ कार्यकारी आदेश हो।
यस नाम परिवर्तन केही हदसम्म अपेक्षित भए तापनि त्यो चीनले विशाल परेडमा नयाँ अस्त्र, ड्रोन र अन्य सैन्य हार्डवेयरको दायरा अनावरण गरेपछि आएको छ।
बेइजिङको परेडलाई कैयौँले अमेरिका र उसका सहयोगीहरूलाई प्रस्ट सन्देशको रूपमा व्याख्या गरेका छन्।




प्रतिक्रिया