अमेरिकाको ‘अपरेशन एब्सोल्यूट रिजल्भ’ मिशन-यसरी लिएको थियो मदुरोलाई नियन्त्रणमा

अमेरिकाको ‘अपरेशन एब्सोल्यूट रिजल्भ’ मिशन-यसरी लिएको थियो मदुरोलाई नियन्त्रणमा

अमेरिकी सैनिक पुग्दा के गर्दै थिए मदुरोले ?


काठमाण्डु- अमेरिकी गुप्तचरहरूले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोका हरेक गतिविधि महिनौँदेखि निगरानी गरिरहेका थिए ।

भेनेजुएलाको सरकारभित्रै रहेको एउटा स्रोतसहितको सानो टोलीले ६३ वर्षीय मदुरो कहाँ सुत्थे, के खान्थे, के लगाउँथे भनेर नियालिरहेका थिए । एक जना अमेरिकी शीर्ष सैन्य अधिकारीहरूका अनुसार उनका घरपालुवा जनावरहरू समेत निगरानीमै थिए ।

‘अपरेशन एब्सोल्यूट रिजल्भ’ नाम दिइएको योजनाबद्ध मिशनले डिसेम्बरको आरम्भमा अन्तिम रूप पायो । महिनौँको सूक्ष्म योजना र अभ्यास पछि उक्त मिशन तयार भएको थियो । यसको तयारीका क्रममा अमेरिकी विशेष फौजका सैनिकहरूले राजधानी कराकासस्थित मदुरो बस्ने सुरक्षित आवासजस्तै संरचना बनाएर त्यहाँ प्रवेश गर्ने अभ्याससमेत गरेका थिए ।

शीतयुद्धपछि ल्याटिन अमेरिकामा सबैभन्दा असाधारण अमेरिकी सैनिक हस्तक्षेप मानिएको यो योजना अत्यन्त गोप्य राखिएको थियो । अमेरिकी संसद् कंग्रेसलाई पनि यसबारे जानकारी थिएन । सबै तय भइसकेपछि अमेरिकी उच्च सैन्य अधिकारीहरू उपयुक्त मौकाको प्रतीक्षामा मात्र थिए ।

कराकासमा मध्यरात हुनुअघि आदेश दिइएको थियो र सेनालाई अन्धकारको फाइदा उठाउँदै कारबाही अघि बढाउने अवसर थियो ।

आदेशलगत्तै आकाश, जमिन र समुद्री मार्गबाट २ घण्टा २० मिनेट लामो कारबाही भयो । अमेरिकाको यो आक्रमणले वासिङ्टनसहित र विश्वभरि धेरैलाई स्तब्ध बनायो । आक्रमणको आकार र सटिकताका हिसाबले यो करिब अभूतपूर्व थियो ।ट्रम्पले यो अभियान ह्वाइट हाउसको ‘सिचुएशन रुम’बाट नभई फ्लोरिडाको पाम बीचस्थित आफ्नो एउटा क्लबमा

सल्लाहकारहरूसँगै बसेर प्रत्यक्ष प्रसारणमार्फत् हेरेका थिए । त्यहाँ उनीसँग सीआईए निर्देशक जोन  र्‍याट्क्लिफ र विदेशमन्त्री मार्को रुबिओ पनि थिए ।

पछिल्ला केही महिनायता हजारौँ अमेरिकी सैनिक यस क्षेत्रमा तैनाथ भएका थिए । एउटा विमानवाहक युद्धपोत र दर्जनौँ लडाकु विमान सहित दशकौँयताकै ठूलो सैनिक उपस्थिति यो क्षेत्रमा थियो ।

ट्रम्पले मदुरोमाथि लागुऔषध तस्करी र ’लागुऔषध आतङ्कवाद’को आरोप लगाएका थिए । अमेरिकाले यो क्षेत्र वरपर लागुऔषध ओसारपसारमा संलग्न भनिएका दर्जनौँ साना डुङ्गा नष्ट गरिसकेको थियो ।

अमेरिकी अधिकारीहरूका अनुसार १५० वटा भन्दा बढी बमवर्षक, लडाकु जेट र गुप्तचर विमानहरू रातभरि आकाशमा उडाइएका थिए ।

स्थानीय समय अनुसार बिहान करिब २ बजे कराकासमा ठूलो विस्फोटको आवाज सुनिएको थियो । लगत्तै सहरमाथि धुवाँका मुस्लोहरू उठेको देखियो ।

कराकास वरिपरि आक्रमण भइरहँदा अमेरिकी विशेष फौज सहरभित्र प्रवेश गरेका थिए । स्रोतका अनुसार तीमध्ये अमेरिकी सेनाको सबैभन्दा गोप्य विशेष दस्ता डेल्टा फोर्सका सदस्यहरू पनि थिए । मदुरोको सुरक्षित आवास ‘सेफ हाउस’का फलामे ढोका काट्नुपर्ने अवस्थामा प्रयोग गर्न ‘ब्लो–टर्च’समेत उनीहरूले सँगै लिएर गएका थिए ।

पछिल्ला महिनाहरूमा क्युवाका सुरक्षा गार्डहरूमा भर पर्न थालेका मदुरो अमेरिकी सैनिकहरू राष्ट्रपतीय भवनको परिसरभित्र पस्दै गर्दा सुरक्षित कोठातर्फ भाग्न खोजेका थिए ।

‘उनी सुरक्षित स्थानमा जान प्रयास गरिरहेका थिए, तर त्यो सुरक्षित थिएन, किनभने हामी ४७ सेकेन्डमै ढोका उडाइदिन सक्थ्यौँ,’ ट्रम्पले भने ।

‘उनी ढोकासम्म पुगे तर बन्द गर्न भ्याएनन्,’ ट्रम्पले सुनाए, ‘उनी यति छिटो घेरिए कि त्यो कोठाभित्र पस्न नै पाएनन् ।’

ट्रम्पका अनुसार कारबाहीमा संलग्न अमेरिकीहरूमध्ये केही घाइते भए पनि कसैको मृत्यु भएन । भेनेजुएलाको पक्षतर्फ भएको क्षतिबारे अधिकारीहरूले आधिकारिक विवरण दिएका छैनन् ।

शनिवार बिहान ४ बजेर २० मिनेट हुनुअघि नै हेलिकप्टरहरूले मदुरो र उनकी पत्नीलाई भेनेजुएलाबाट बाहिर पु¥याइसकेका थिए ।

यसअघि अमेरिकाले मदुरोको गिरफ्तारीका लागि सहयोग पुग्ने गरी सूचना दिनेलाई पाँच करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो । मदुरोलाई नियन्त्रणमा लिएको करिब एक घण्टापछि मात्रै ट्रम्पले विश्वलाई त्यसको जानकारी दिएका थिए ।