काठमाण्डु – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले आफैलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका हुन् ।
यससँग सम्बन्धित एउटा तस्बिर पनि उनले सेयर गरेका छन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा एउटा तस्बिर पोस्ट गरेका छन् । त्यसमा उनले आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ भनेर उल्लेख गरेका हुन् ।
ट्रम्पले यसअघि भेनेजुएलामा सैन्य कारबाही गरेर त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी विश्वभर हलचल मच्चाएका थिए ।
उनले यो घोषणा दक्षिण अमेरिकी देशका तेल सम्पत्तिसँग जोडिएको राष्ट्रिय आपतकाल घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेको केही दिनपछि आएको हो । उक्त आदेशले अमेरिकामा राखिएका भेनेजुएलाका तेल आम्दानीमाथि अमेरिकी नियन्त्रण कडा बनाएको छ, जसले ऋणदाता निकायहरूलाई ती रकममा पहुँच गर्नबाट रोक्दै बक्यौता ऋण वा कानुनी दाबी भुक्तानी गर्न प्रयोग गर्न नदिने व्यवस्था गरेको छ ।
भेनेजुएलामा अपरेशनपछि ट्रम्पले संक्रमणकालीन अवधिमा संयुक्त राज्य अमेरिकाले त्यहाँको प्रशासन अस्थायी रूपमा हेर्ने बताएका थिए । ‘हामी सुरक्षित, उचित र विवेकपूर्ण संक्रमण सम्भव नहुन्जेल भेनेजुएलालाई सञ्चालन गर्नेछौं,’ उनले भनेका छन्, ‘भेनेजुएलाली जनताको हित विपरीत हुने अर्को सत्ता कब्जाको जोखिम लिन सकिने छैन ।’
उता भेजेजुएलमा भने पूर्व उपराष्ट्रपति तथा तेल मन्त्री डेल्सी रोड्रिगेजलाई गत साता अन्तरिम राष्ट्रपतिको रूपमा शपथ गराइएको आधिकारिक घोषणा गरिएको थियो ।





प्रतिक्रिया