काठमाण्डु – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई फेरि धम्की दिएका छन् ।
राष्ट्रपति ट्रम्पले आउने केही हप्ताभित्र अमेरिकाले शत्रु राष्ट्र इरानमाथि बमबारी गर्ने र उसलाई ‘पाषाण युग’मा पुर्याइदिने धम्की दिएका छन् ।
ट्रम्पले यस हप्ताको सुरुमै पनि इरानलाई यस्तै धम्की दिएका थिए ।
बिहीबार बिहान ह्वाइट हाउसमा आफ्नो सम्बोधनमा उनले भने, ‘हामी आगामी दुईदेखि तीन हप्ताभित्र उनीहरू (इरान) माथि ठूलो आक्रमण गर्ने छौँ । हामी उनीहरूलाई पाषाण युगमा पुर्याइदिनेछौँ, जुन उनीहरूको स्थान हो ।’
उनले अमेरिका आगामी दुई–तीन हप्ताभित्र इरानबाट आफ्नो सेना फिर्ता बोलाएर बाहिरिने पनि बताए । ट्रम्प प्रशासनले युद्ध सुरु हुँदा नै यो द्वन्द्व चारदेखि छ हप्ताभन्दा बढी नलम्बिने बताएको थियो ।
१९ मिनेट लामो सम्बोधनमा ट्रम्पले इरानविरुद्धको युद्ध आफ्नो लक्ष्य पूरा हुन निकै नजिक पुगेको दाबी गरे । ट्रम्पको भाषणपछि तेलको मूल्यमा उछाल आएको र एशियाली बजारमा गिरावट देखिएको छ ।
उनले भने, ‘हामी इजरायल र मध्यपूर्वका आफ्ना अन्य सहयोगी राष्ट्रहरू साउदी अरेयिबा, बहराइन, कतार, कुबेत र संयुक्त अबर इमिरेट्स (युएई) लाई सहयोगका लागि धन्यवाद दिन्छौँ ।’
ट्रम्पका अनुसार कुनै उक्साहट बिना इरानले यी देशहरूमाथि आक्रमण गर्नुले ऊ त्यस क्षेत्रका लागि ठूलो खतरा भएको दाबी गरे ।
उनले भने, ‘एपिक फ्युरी” किन अमेरिका र विश्वको सुरक्षाका लागि आवश्यक छ भन्ने बुझाउन आफूले सम्बोधन गरेको हो ।’ अमेरिकाले इरानविरुद्धको सैन्य कारबाहीलाई ‘एपिक फ्युरी’ नाम दिएको छ ।
ट्रम्पले विगत ४७ वर्षमा इरान वा उसका समर्थित समूहहरूले धेरै उग्रवादी आक्रमण गरेको आरोप लगाए । उनले इरानी सत्तालाई ‘हत्यारा’ भन्दै हालैका विरोध प्रदर्शनमा गरिएको दमनको पनि उल्लेख गरे ।
उनले भने, ‘यस्ता नेताहरूलाई परमाणु हतियार प्राप्त गर्न अनुमति दिन सकिँदैन । म यस्तो कहिल्यै हुन दिने छैन ।’
उनले २०औँ र २१औँ शताब्दीका युद्धहरू वर्षौँसम्म चलेको स्मरण गराउँदै हालको द्वन्द्व मात्र ३२ दिनदेखि जारी रहेको बताए ।
तेलको मूल्य बढ्यो
बीबीसीका अनुसार ट्रम्पको सम्बोधनले होर्मुज जलडमरू कहिले खुल्ने भन्नेबारे बजारलाई विश्वास दिलाउन सकेको छैन ।
ट्रम्पको सम्बोधनअघि ब्रेन्ट क्रूड तेलको मूल्य प्रति ब्यारेल करिब १०० डलर थियो भने सम्बोधनपछि उतार–चढाव हुँदै करिब ४ प्रतिशत बढेर १०५.३८ डलर पुगेको छ ।
यो जलडमरू विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण छ, किनकि विश्वको करिब २० प्रतिशत ऊर्जा आपूर्ति यही मार्गबाट हुन्छ ।
फेब्रुअरी २८ मा द्वन्द्व सुरु भएदेखि यो मार्ग लगभग बन्द छ । इरानले अमेरिकी र इसराइली आक्रमणको जवाफमा यहाँबाट जाने जहाजहरूलाई निशाना बनाएको छ ।




प्रतिक्रिया