यसरी हुँदैछ ह्वाइट हाउसमा ट्रम्पको स्वागत

यसरी हुँदैछ ह्वाइट हाउसमा ट्रम्पको स्वागत


काठमाण्डु- अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार ह्वाइटहाउसमा पदभार ग्रहण गर्दैछन् । ७८ वर्षीय ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा कार्यभार सम्हाल्ने छन् ।

ह्वाइटहाउस प्रवेशअघि राष्ट्रपति ट्रम्प सेन्ट्र जोन्स चर्चमा प्रार्थना सभामा सहभागी भएका छन् । वर्तमान राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबीच भेटघाट गरी सत्ता हस्तान्तरण हुनेछ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले डोनाल्ड ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सलाई शपथ गराउनेछन् । यस अवधिमा ट्रम्पको देब्रे हात बाइबलमा हुनेछ । उनकी पत्नी मेलानियाले बाइबल समात्ने छिन् ।

त्यसपछि ट्रम्पले ह्वाइटहाउस नजिकैको पेन्सिल्भेनिया एभेन्युमा आयोजना हुने सैनिक कवाज र परेड अवलोकन गर्ने छन् ।

पदभार ग्रहणकै दिन ट्रम्पले केही नियुक्ति र एक सयभन्दा बढी कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी गरेको द इकोनोमिक टाइम्सले जनाएको छ ।

यी कार्यकारी आदेशहरू मुख्यतः ट्रम्पको चुनावी प्रतिबद्धतासँग सम्बन्धित हुनेछन् । एनबीसी न्यूजसँगको एक अन्तर्वार्तामा ट्रम्पले पहिलो दिनमै ‘रेकर्ड’ तोड्नेगरी धेरै संख्यामा कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्ने योजना सुनाएका छन् ।

ह्वाइटहाउसमा उनको पुनरागमनलाई भव्य र ऐतिहासिक बनाउन शनिबारदेखि नै उत्सवमय वातावरणमा विभिन्न कार्यक्रमहरु भइरहेका छन् । शनिबार भर्जिनियास्थित गल्फ क्लबबाट सुरु भएको उत्सवका कार्यक्रम मंगलबारसम्म जारी रहने स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

ट्रम्प राष्ट्रपति बनेको खुसियालीमा विजय जुलुस, भोज, कन्सर्ट, आतसबाजी लगायतका कार्यक्रम गर्नका लागि शपथग्रहण समारोह समितिले १७ करोड अमेरिकी डलर चन्दा संकलन गरिसकेको छ ।

समारोहका लागि दस लाख डलर वा सोभन्दा बढी चन्दा दिने दाताहरू राष्ट्रपति तथा नवगठित मन्त्रिपरिषद्का सदस्यहरूसँगै चियापान तथा भोजमा सहभागी हुन पाउने बताइएको छ ।

अतिथि, विशिष्ट अतिथि, मन्त्रिपरिषद्का सदस्य, पाहुना, चन्दादाता, समाजका लब्ध प्रतिष्ठित व्यक्ति सम्मिलित तीन वटा भोज आयोजना गर्ने तयारी छ । सो भोजमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति हुनेछ ।

मंगलबार राष्ट्रिय प्रार्थना सभासँगै सपथग्रहण समारोह उत्सव सम्पन्न हुनेछ । ट्रम्प २०१६ को नोभेम्बरमा पनि राष्ट्रपतिमा निर्वाचित भएर पूरै चारवर्षे कार्यकाल बिताएका थिए । सन् २०२० को निर्वाचनमा भने उनी वर्तमान राष्ट्रपति जो वाइडेनसँग पराजित भएपछि २०२१ जनवरीमा ह्वाइट हाउसबाट बिदा भएका थिए ।

त्यसपछि सन् २०२४ को नोभेम्बरमा उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । ट्रम्पको पुनरागमनसँगै अमेरिकी नीतिहरुमा परिवर्तन आउन सक्ने अनुमान विश्लेषकहरुले गरेका छन् ।

अमेरिकामा पदभार ग्रहण गरेपछि राष्ट्रपतिलाई ह्वाइट हाउसमा बस्नु आवश्यक हुन्छ । यो अमेरिकी राष्ट्रपतिको आधिकारिक निवास र कार्यालय हो । जर्ज वाशिंगटन एक मात्र अमेरिकी राष्ट्रपति थिए जो कहिल्यै ह्वाइट हाउसमा बसेनन् । वास्तवमा, यसको निर्माण उनको राष्ट्रपतिको समयमा १९७२ मा सुरु भयो । यसको काम १८०० मा पूरा भएको थियो । त्यतिन्जेल वासिङ्टनले कार्यालय छोडिसकेका थिए ।

जोन एडम्स ह्वाइट हाउसमा बस्ने पहिलो राष्ट्रपति थिए । उनी अमेरिकाका दोस्रो राष्ट्रपति थिए । सामान्यतया राष्ट्रपति शपथ लिनुअघि ह्वाइट हाउस आउँछन् र त्यहाँबाट शपथ ग्रहण समारोहमा पुग्छन् ।