काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई तथा शुभकामना दिएका छन् । राष्ट्रपति पौडेलले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति ट्रम्पलाई अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा कार्यभार ग्रहण गरेकोमा शुभकामना व्यक्त गरेका हुन् ।
उनले लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा पदभार ग्रहण गर्नुभएकोमा महामहिम श्री डोनाल्ड जे. ट्रम्पलाई हार्दिक बधाई र सफल कार्यकालको लागि शुभकामना । मलाई आशा छ कि नेपाल र संयुक्त राज्य अमेरिका बीचको सौहार्दपूर्ण सम्बन्ध आगामी दिनहरूमा अझ प्रगाढ र विस्तारित हुनेछ ।’
साथै, राष्ट्रपति पौडेलले नेपाल र अमेरिकाबीच कायम रहेको सौहार्दपूर्ण सम्बन्ध आगामी दिनहरूमा अझ प्रगाढ र विस्तार हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवालेपनि संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत एक सन्देश जारी गर्दै सफल कार्यकालका लागि शुभकामना दिएका हुन् ।
उनले लेखेका छन्, ‘डोनाल्ड ट्रम्पलाई संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको रूपमा कार्यभार ग्रहण गर्नुभएकोमा हार्दिक बधाई मलाई विश्वास छ कि तपाईंको कार्यकालमा नेपाल र अमेरिकाको बीचको सम्बन्ध अझ प्रगाढ हुनेछ ।’
ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास सभापति देउवाको छ ।





प्रतिक्रिया