अमेरिकी राष्ट्रपति ट्रम्प कति शक्तिशाली?

अमेरिकी राष्ट्रपति ट्रम्प कति शक्तिशाली?


काठमाण्डु- जनवरी २०देखि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु गरेका छन् । उक्तदिन सपथ लिएसँगै राष्ट्रपति ट्रम्पले थुप्रै परिवर्तनहरू लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यभार सम्हालेसँगै उनले मेक्सिकोसँगको सिमानामा राष्ट्रिय संटकालको घोषणा, लागूपदार्थ तस्करहरूको गिरोहहरू, कार्टेललाई आतंकवादी संगठन घोषणा, विश्व स्वास्थ्य संगठनबाट बाहिरने, पेरिस सम्झौताबाट बाहिरने, दङ्गामा संलग्नलाई माफी दिनेलगायतका कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका छन् ।

रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले राष्ट्रपतीय चुनावी अभियानका क्रममा अमेरिकी इतिहासमै सबैभन्दा ठूलो देश निकाला कार्यान्वयन गर्ने, कर्मचारीतन्त्र व्यवस्थित गर्ने, कर कटौती र विदेशी आयातमा नयाँ करहरू लगाउने वाचा गरेका थिए ।

आफ्ना घोषित लक्ष्यहरू हासिल गर्न ट्रम्प संसद्मा रहेको रिपब्लिकन पार्टीको नियन्त्रण र सर्वोच्च अदालतमा कायम कन्जरभेटिभहरूको बहुमत माथि भर परिरहेका छन् । तर उनका सामु जाँच, सन्तुलन र अन्य चुनौतीहरू छन् । विश्लेषकहरूका अनुसार उनका योजनाहरूलाई सीमित तुल्याउन सक्ने विभिन्न कारणहरू छन् ।

संसद्मा झिनो बहुमत

संसद्का दुवै सदनमा रिपब्लिकनहरूको बहुमत छ, तर झिनो मात्रमा छ । गत नोभेम्बरको चुनावमा हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकनहरूले २२० सिट जिते भने डेमोक्रेटसहरूले २१५ सिट जितेका छन् । त्यसयता, दुईजना रिपब्लिकन सांसदहरूले राजीनामा दिएका छन् र एकजनाले त्यसैलाई पछ्याउने ठानिएको छ ।

खाली स्थानहरूका लागि आउँदा महिनाहरूमा चुनाव भए पनि अहिले भने रिपब्लिकनहरूको जम्मा दुई सिटको मात्रै अग्रता कायम छ ।

यस्तै, सिनेटमा रिपब्लिकनहरूको ५३ सिट छ भने डेमोक्रेटस्हरूको ४७ सिट छ । यसको अर्थ सुपरमेजरिटी अर्थात अत्यधिक बहुमतका लागि आवश्यक पर्ने ६० मत उनीहरूसँग छैन । त्यति संख्यामा मत भएको भए विपक्षी सांसदहरूले मतदानमा ढिलाइ गर्ने वा विरुद्धमा मत दिने अवस्था नै रहँदैन थियो ।

यद्यपि, रिकन्सिलिएशन अर्थात मेलमिलाप भनिने विशेष प्रक्रिया अन्तर्गत सिनेटलाई बजेटसम्बन्धी प्रावधानहरू पारित गर्न भने जम्मा ५१ मतको सामान्य बहुमत नै पर्याप्त हुन्छ । रिपब्लिकनहरूले आफ्ना उद्देश्य प्राप्त गर्न यही प्रक्रिया अन्तर्गत आफूले चाहेका प्रावधानहरूलाई मिसाएर अघि बढ्न सक्ने बताइन्छ ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालको सुरुको आधा समयमा दुवै सदनमा बहुमत रहेको अवस्थामा कर कटौतीसम्बन्धी विधेयक मात्रै पारित गर्न सक्छन् ।

स्वतन्त्र न्यायपालिका

सर्वोच्च अदालत अमेरिकाको सबैभन्दा माथिल्लो अदालत हो जसमा न्यायाधीशको पद रिक्त भएपछि राष्ट्रपतिले नयाँ नियुक्ति गर्न पाउँछन् ।

९ मध्येका ६ जना न्यायाधीशहरू अहिले कन्जरभेटिभहरू हुन् । ती मध्ये पनि तीन जना ट्रम्पले आफ्नो पहिलो कार्यकालका बेला छानेका न्यायाधीश हुन् । तर उनको प्रशासनका कामहरूलाई अदालतले समर्थन गर्छ भन्ने पक्का हुँदैन । ट्रम्पले सन् २०१६ को चुनावी अभियानका बेला बाचा गरे अनुसार नै सन् २०२२ मा गर्भपतनसम्बन्धी अधिकारलाई प्राप्त संघीय संरक्षणलाई सर्वोच्च अदालतले उल्टाइ दिएको थियो ।

यद्यपि, रिपब्लिकनले आशा गरेभन्दा फरक सर्वोच्च अदालतले ओबामा केयर पनि भनिने ‘अफोर्डेबल केयर एक्ट’का केही प्रावधान भने सदर गर्‍यो । त्यसबाहेक समलिङ्गीहरूलाई कार्यालयमा हुने गरेको विभेदबारे पनि केही प्रावधान सदर गर्‍यो ।

सन् २०२० को राष्ट्रपतीय चुनावी परिणाम उल्ट्याउन गरिएको प्रयास पनि सर्वोच्च अदालतले अस्वीकार गर्‍यो । त्यसबाहेक बालक अवस्थामा गैरकानुनी तरिकाले अमेरिका प्रवेश गरेका केही आप्रवासीको संरक्षण गर्ने कार्यक्रम उल्ट्याउने प्रयासलाई सर्वोच्च अदालतले रोकिदिएको थियो ।

पीउ रिसर्च सेन्टरका अनुसार सर्वोच्च अदालतबाहेक ६० प्रतिशत जिल्ला अदालतका न्यायाधीशहरू डेमोक्रेटस् राष्ट्रपतिले र ४० प्रतिशत मात्रै रिपब्लिकनहरूले मनोनयन गरेकाहरू छन् ।

न्यायाधीशहरू सर्वोच्च अदालतले तय गरेका कानुन र नजिरहरूबाट निर्देशित हुन्छन् भने न्यायपालिका सरकारको तेस्रो महत्वपूर्ण अंग र हदैसम्म स्वतन्त्र हुन्छन् ।

राज्य र स्थानीय सरकारहरू

अमेरिकी संविधानको १० औँ संशोधनले राज्य सरकारहरूलाई फराकिलो शक्ति दिएको छ । राज्यहरूले सुरक्षा, स्वास्थ्य, शिक्षा, सामाजिक सुविधा, फौजदारी कानुन, श्रम नियमन र सम्पत्तिसम्बन्धी कानुन हेर्छन्। काउन्टी र सहरहरूले सार्वजनिक सुरक्षा, सहरी योजना र जग्गाको प्रयोगको विषय हेर्छन् ।

डेमोक्रेट्सहरूले ट्रम्प प्रशासनलाई स्थानीय स्तरमा चुनौती दिन यी शक्तिहरूको प्रयोग गर्छन् । अहिले अमेरिकाका ५० मध्ये २३ वटा राज्यमा डेमोक्रेटिक गभर्नरहरू छन् ।

ठूलो संख्यामा मानिसहरूलाई देश निकाला गर्ने जस्ता ट्रम्पका केही योजना कार्यान्वयन गर्न स्थानीय सहयोग आवश्यक पर्छ । त्यसैले राज्य र स्थानीय स्तरबाट हुनसक्ने प्रतिरोधले त्यसलाई प्रभावित तुल्याउन सक्छ ।

थुप्रै सहरहरू र राज्यहरूले आफूलाई आप्रवासीका लागि सुरक्षित स्थल घोषणा गरेका छन् र त्यसबाट संघीय सरकारसँगको उनीहरूको सहकार्य सीमित भएको छ ।

अमेरिकी निजामती सेवा

ट्रम्पको पहिलो कार्यकालका क्रममा रिपब्लिकनहरूले निजामती सेवाभित्रका अधिकारीहरूका कारण आफ्ना एजेन्डाहरू लागू गर्न सीमितता भएको गुनासो गरेका थिए ।

ट्रम्पले पहिलो कार्यकालको अन्त्यतिर, हजारौँ सरकारी कर्मचारीलाई बर्खास्त गर्न सकिने र तिनका स्थानमा आफ्ना समर्थकहरूलाई नियुक्त गर्न आफूलाई अधिरकार प्राप्त हुने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

पूर्वराष्ट्रपति जो बाइडनले त्यसलाई निस्तेज गरिदिए तर राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालको पहिलो दिन उस्तै खालको कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । उनले कार्यालय नगई घर वा बाहिरबाटै कार्यालयको काम गर्ने संघीय कामदारहरूलाई पनि कार्यालयमा फर्किन आदेश दिएका छन् ।

अर्थ मन्त्रालयका कर्मचारीहरूको सङ्गठन ‘नेशनल ट्रेजरी इम्प्लोइज युनियन’ ले राष्ट्रपतिले जारी गरेका नयाँ कार्यकारी आदेशका विरुद्ध कानुनी चुनौती दिइसकेका छन् । राष्ट्रपति ट्रम्पका त्यस्ता कदमहरूले सशक्त संस्थागत, कानुनी, राजनीतिक र ट्रेड युनियनको प्रतिरोधको सामना गर्नुपर्ने हुन्छ ।

नागरिक समाज र सञ्चारमाध्यम

ट्रम्पले उदारवादी–झुकाव सञ्चारमाध्यमहरू र अमेरिकन सिभिल लिबर्टिज युनियन(एसीएलयू) जस्ता नागरिक समाजका संस्थाहरूबाट निरन्तर आलोचनाको सामना गर्नुपर्ने देखिन्छ ।

१७ लाख सदस्य रहेको एसीएलयूले ट्रम्पका केही प्रस्तावहरूले आप्रवासी परिवारलाई विभाजित गर्ने, प्रजनन स्वास्थ्यलाई नराम्रो असर गर्ने र प्रदर्शनकारी र राजनीतिक विपक्षीहरूलाई दमन गर्ने भन्दै उनका केही प्रस्तावहरूलाई रोक्ने प्रयास गर्ने जनाएको छ ।

एसीएलयू र अन्य समूहहरूले जन्मका आधारमा अमेरिकी नागरिकता पाइने अधिकार अन्त्य गर्ने उनको योजनालाई पनि कानुनी चुनौती दिएको छ । त्यस्तो अधिकारले अमेरिकामा जन्मिने जो कोहीले स्वतः अमेरिकी नागरिकता पाउन सक्ने व्यवस्था गरेको थियो ।

ट्रम्पका केही विपक्षीहरू केही सञ्चारमाध्यमलाई लिएर चिन्तित छन् । खासगरी वाशिङ्टन पोस्ट र एलए टाइम्सले राष्ट्रपतीय निर्वाचनअघि परम्परागत रूपमा राष्ट्रपति पदका उम्मेदवारहरूलाई गरिने गरिएको अनुमोदन प्रकाशित नगर्ने भनेर तिनीहरूले निर्णय गरेका थिए ।
ती दुवै सञ्चार गृहले ट्रम्पकी प्रतिद्वन्द्वी कमला ह्यारिसलाई समर्थन गर्ने ठानिएको थियो ।

लोकको समर्थन

राष्ट्रपति ट्रम्पले जनताको आमधारणामा पनि आफ्नो आँखा लगाइरहने छन् । उनले निर्वाचनमा ४९.९ प्रतिशत ‘पपुलर भोट’ पाएको थिए । जुन कुल मतदाताको आधाभन्दा केही कम हो । र ट्रम्पले प्रतिशत विन्दुमा कमला ह्यारिसले भन्दा १.५ प्रतिशत विन्दु मात्रै बढी मत पाएका छन् ।

ट्रम्पलाई मत दिनेहरू सबैले उनको सबै नीतिलाई समर्थन गर्ने जरुरी छैन । व्यक्तिगत रूपमा ट्रम्पलाई मन नपराउने केही रिपब्लिकनहरू करको दर कम होस् र नियमनहरू पनि कम होउन् भन्ने चाहन्छन् ।

केही विज्ञहरू भन्छन् अर्थतन्त्रलाई बलियो बनाउने र महगी घटाउने राष्ट्रपति ट्रम्पको वाचाहरूलाई आयातमा शुल्क थप्ने र आप्रवासीलाई देश निकाला गर्ने जस्ता उनका अन्य योजनाले प्रभावित तुल्याउन सक्छ ।