डोनाल्ड ट्रम्पको भ्रमण : भारतसँग व्यापारिक खटपट, मोदीसँग ‘दोस्ती’

डोनाल्ड ट्रम्पको भ्रमण : भारतसँग व्यापारिक खटपट, मोदीसँग ‘दोस्ती’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबारदेखि भारत भ्रमणमा आउँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ट्रम्पको भारत भ्रमण तय भएको हो ।

ट्रम्पको भारत भ्रमण भारत–अमेरिकी सम्बन्ध सुमधुर भएर हुन लागेको हो ? होइन । दुवै देशबीच व्यापारिक विषयमा थुप्रै विवाद र खटपट चल्दै आएका छन् ।

द्विपक्षीय खटपटबीच ट्रम्पले गरिरहेको भारत भ्रमणमा नरेन्द्र मोदीसँगको व्यक्तिगत सम्बन्धले काम गरेको पाइएको छ । त्यसको खुलासा स्वयं ट्रम्पले गरेका छन् ।

उनले भारत भ्रमणमा आउनु केही दिनअघि भनेका छन्, ‘भारतले हामीसँग धेरै राम्रो व्यवहार गरिरहेको छैन तर म प्रधानमन्त्री मोदीलाई धेरै मन पराउँछु, मोदीसँग मेरो दोस्ती छ ।’ ट्रम्प भ्रमणका क्रममा भारत–अमेरिकाबीच ठूलो व्यापार सम्झौता हुने आकलन गरिएपनि त्यसको सम्भावना टरेको विश्लेषण हुन थालेको छ ।

ट्रम्पको भ्रमणअघि तय भएको अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरको भारत यात्रा स्थगित भएकाले ठूलो व्यापार सम्झौता नहुने देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुवै देशबीच केही विवादित मुद्दामा सहमति हुन नसकेपछि रोबर्टको भ्रमण स्थगित भएको थियो ।

व्यापार सम्झौताबारे बोल्दै ट्रम्पले ठूला सम्झौता भविष्यका लागि बाँकी राखिने जनाएका छन् । अमेरिकामा हुने राष्ट्रपति निर्वाचनअघि व्यापार सम्झौता गर्ने योजनामा ट्रम्प रहेका छन् । अर्कोतिर भारत–अमेरिका सम्बन्ध उतारचढाव र खटपटयुक्त रहेको छ ।

व्यापारमा खटपट

भारतको व्यापार चीनपछि अमेरिकासँग बढी रहेको छ । सन् २०१८ मा भारत–अमेरिका व्यापार १४२.६ बिलियन डलर पुगेको थियो । खटपटपछि व्यापार घटेर सन् २०१९ मा २३।२ बिलियन डलरमा झरेको थियो । अमेरिकी सत्तामा ट्रम्प आएपछि व्यापारिक तनाव बढ्दै गएको छ ।

ट्रम्प प्रशासनले भारतबाट आयात हुने स्टीलजन्य पदार्थमा २५ प्रतिशत र एल्मुनियममा १० प्रतिशत शुल्क बढाएपछि दुवै देशबीच व्यापार विवाद सुरू भएको थियो । वृद्धि शुल्क कार्यान्वयन हुनुअघि भारतले अमेरिकासँग धेरैपल्ट पुनर्विचारका लागि आग्रह गर्‍यो । तर अमेरिकाले भारतको आग्रह सुन्दै सुनेन ।

त्यसपछि भारतले सन् २०१९ जुन १६ मा अमेरिकामा बनेका र अमेरिकाबाट आयात हुने २८ उत्पादनमा शुल्क लगायो । भारतीय कदमविरुद्ध अमेरिकाले विश्व व्यापार संगठनमा उजुरी समेत दियो । अमेरिकाले एचवान–बी भिसाको कोटा समेत १५ प्रतिशत घटायो । यसरी अमेरिका–भारतबीच व्यापार विवाद बढ्दै गएको छ ।

अमेरिका–भारतबीच व्यापार सम्झौता गर्न सन् २०१९ नोभेम्बर १३ का लागि भारतका वाणिज्यमन्त्री पीयूष गोयल र समकक्षी रोबर्टबीच भेटवार्ता भयो । सम्झौतालाई अन्तिम रुप दिन अमेरिकाको एक समिति भारत आयो । तर शनिवार अमेरिकामा आयोजित एक पत्रकार सम्मेलनमा ट्रम्पको भ्रमण दलमा रोबर्टको नाम समावेश नभएको स्पष्ट पारिएपछि ठूला व्यापार सम्झौताको सम्भावना टरेको छ भने अमेरिका–भारत व्यापार विवाद कायमै रहेको विश्लेषण भइरहेको छ ।

व्यक्तिगत ‘दोस्ती’ र चुनावी स्वार्थ !

ट्रम्पको भारत भ्रमणलाई मोदीसँगको व्यक्तिगत निकटता र अमेरिकीमा आसन्न आमनिर्वाचनसँग जोडेर हेर्न थालिएको छ । मोदी–ट्रम्पबीच पछिल्ला ८ महिनाभित्र मात्रै भारतमा हुने भेट पाँचौ हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुवैले एकअर्कालाई ‘दोस्त’ भन्छन् र अंकमाल गरेको तस्वीर सार्वजनिक गर्छन् । यसअघि राष्ट्रपति बाराक ओबामासँग पनि मोदीको व्यक्तिगत सम्बन्ध राम्रो थियो ।

भारत भ्रमणबाट ट्रम्पले अमेरिकामा हुने चुनावमा फाइदा लिन खोजेको रुपमा समेत विश्लेषण भइरहेको छ । अमेरिकामा भारतीय मूलका धेरै मतदाता रहेका र ती भोट आफ्नो पक्षमा पार्न ट्रम्पले भारत भ्रमण तय गरेको सञ्चारमाध्यमले जनाएका छन् ।

भारत भ्रमणका क्रममा ट्रम्प दिल्ली, आगरा र अहमदाबाद भ्रमण गर्दैछन् । अहमदाबादमा ‘नमस्ते ट्रम्प’ नामक र्‍याली आयोजना गरिने र जसमा १ लाखभन्दा बढी व्यक्तिको सहभागिता रहेको जनाइएको छ । यसअघि मोदी अमेरिका जाँदा ह्यूस्टनमा ‘हाउडी मोदी’ कार्यक्रम आयोजना गरिएको थियो । अमेरिकामा भारतीय मूलका २४ लाख मतदाता रहेको बताइन्छ ।