डोनाल्ड ट्रम्पको ‘मानवता विरुद्धको अपराध’ : सन्किएर कोरोनासँग एक्लै लड्न सक्छन् ?

डोनाल्ड ट्रम्पको ‘मानवता विरुद्धको अपराध’ : सन्किएर कोरोनासँग एक्लै लड्न सक्छन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा विवादित निर्णय गरेका छन्, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिँदै आएको सहयोग रोक्ने । संयुक्त राष्ट्र संघ (यूएन) अन्तर्गतको स्वास्थ्य संगठनको सहयोग रोकेर ट्रम्पले कोरोना भाइरस संक्रमण विरुद्धको लडाइँ एक्लै लड्न खोजेका हुन् ? डब्लूएचओको सहयोग रोकेर राष्ट्रपति ट्रम्प यूएनबाट अलग हुन सक्छन् ? यी विविध दीर्घकालीन प्रश्न जीवितै छन् । तर ट्रम्प आलोचनाको तारो बनेका छन् ।

ट्रम्पले यसअघि नै डब्लूएचओलाई विवादमा ल्याउने गरी अभिव्यक्ति दिइरहेका थिए । ट्रम्पको मुख्य आरोप छ – डब्लूएचओ कोरोना महामारीको फैलावट रोक्न असफल भयो, चीनलाई मात्रै हे¥यो, कोरोनाको सूचना लुकायो इत्यादि । गत डिसेम्बर अन्त्यमा चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरस हाल संसारभर फैलिएको छ । सर्सती हेर्दा डब्लूएचओले प्रयास गर्दागर्दै पनि भाइरसको फैलावटलाई रोक्न सफलता पाइरहेको छैन । डब्लूएचओले विभिन्न अनुसन्धान गर्दै सुझाव दिइरहेको छ । तर भाइरस झनझन् फैलिरहेको छ ।

डब्लूएचओ पूर्णरुपमा सफल हुन नसकेपनि संगठनको नियत खराब रहेको, भाइरसको फैलावट रोक्न नखोेजेको होला त ? अन्तर्राष्ट्रिय समुदाय ट्रम्पको आरोपलाई मान्न तयार छैन । ट्रम्पको सहयोग रोक्ने निर्णय उल्टै आलोचित भइरहेको छ । डब्लूएचओको सहयोग रोक्दै ट्रम्पले भने, ‘कोरोना भाइरसको महामारी रोक्न काम भइरहेको छ । म सबै ५० गभर्नरसँग कुरा गरेर योजनावद्ध रुपमा काम गर्न जिम्मेवारी दिनेछु ।’ संगठनको प्रयासबाट अलग रहेर ट्रम्पले आफ्नो छुट्टै योजना अनुसार काम गर्ने संकेत गरेका छन् । विश्वव्यापी महामारीमा ट्रम्प एक्लैको प्रयासले सफलता पाउला ? यो प्रश्नको जवाफ भविष्यले बताउने छ ।

आलोचना खेप्दै ट्रम्प
डब्लूएचओको सहयोग रोक्ने ट्रम्पको निर्णय अन्तर्राष्ट्रिय समुदायमा आलोचनाको विषय बनेको छ । सामान्य रुपमा हेर्दा ट्रम्पको निर्णय एक्लो परेको छ । संयुक्त राष्ट्र संघ पनि ट्रम्पको साथमा छैन । स्वास्थ्य क्षेत्रका विज्ञहरूले ट्रम्पको निर्णयलाई मानवता विरुद्धको अपराध र धिक्कार्नुपर्ने विषय भनेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द गार्जियनले लान्सेट मेडिकल पत्रिकाका मुख्य सम्पादक रिचार्ड होर्टनको भनाइ छापेको छ । उनले भने, ‘ट्रम्पको निर्णय मानवता विरूद्ध अपराध हो । हरेक वैज्ञानिक, हरेक स्वास्थ्यकर्मी, प्रत्येक नागरिकले विश्वव्यापी विश्वासघातको विरूद्ध विरोध गर्नुपर्दछ र विद्रोह गर्नुपर्दछ ।’

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले ट्रम्पको निर्णय गलत समयमा आएको बताएका छन् । ‘अहिले सहयोग कटौती गर्ने वा त्रुटिमाथि प्रश्न खडा गर्ने समय होइन । यो रोग कसरी देखाप¥यो र विश्वव्यापी रूपमा कसरी चाँडै फैलियो र यसमा संलग्न सबैले कसरी प्रतिक्रिया देखाए भनेर बुझ्न पूर्णरुपमा हेर्ने समय हुनुपर्छ,’ उनले भने, ‘यसबाट सिकिएका पाठहरू यस्तै चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक पर्दछ । किनकि भविष्यमा फेरि उत्पन्न हुन सक्दछन् तर विश्व स्वास्थ्य संगठन वा भाइरस विरुद्धको लडाइँमा कुनै पनि मानवीय संगठनको सञ्चालनका स्रोतहरू घटाउने समय होइन यो होइन ।’

ज्युटर हपकिन्स विश्वविद्यालयको स्वास्थ्य केन्द्रका वरिष्ठ शिक्षाविद् डा. अमेश अदल्जाले डब्लूएचओको गल्तीको हिसाबकिताब संकट सकिएपछि हुने बताए । ‘डब्लूएचओले गल्ती गरे र उनीहरूलाई सुधारको खाँचो पर्न सक्छ तर त्यो संकट संकट बितिसकेपछि हुनु आवश्यक छ,’ उनले भने । परराष्ट्र सम्बन्ध सम्बन्धी काउन्सिलका पूर्व वरिष्ठ फेलो लउरी गैरेटले ट्रम्पको निर्णय निष्ठुरी र खराब भएको बताए ।
(अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)