काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे वार्ताकारहरूलाई हतार नगर्न निर्देशन दिएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत ट्रम्पले वार्ता रचनात्मक रूपमा अघि बढिरहेको उल्लेख गर्दै दुवै पक्षले समय लिएर सही निर्णय गर्नुपर्छ भनेका छन् ।
यसअघि उनले सम्झौता झण्डै तय भइसकेको संकेत दिएका थिए । चर्चामा रहेको सम्भावित सम्झौतामा ६० दिनको युद्धविराम अवधि थप गर्ने, होर्मुज जलडमरूमध्य पुनः खोल्ने तथा इरानको आणविक कार्यक्रमबारे थप वार्ताको योजना समावेश रहेको बताइएको छ ।
शनिबार ट्रम्पले सम्झौता धेरै हदसम्म तय भइसकेको बताएका थिए, जसपछि छिट्टै औपचारिक घोषणा हुनसक्ने अनुमान गरिएको थियो ।
इरानी अधिकारीहरूले पनि सप्ताहन्तमा यस्तै संकेत दिएका थिए । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले दुवै पक्ष सम्झौतामा धेरै नजिक रहेको बताएका थिए ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार प्रस्तावित सम्झौता अन्तिम समाधान नभई अस्थायी समझदारी मात्र हो ।
यसमा इरानमाथिको प्रतिबन्ध हटाउने समयसीमा, रोक्का गरिएको इरानी कोष फुकुवा गर्ने विषय तथा वासिङ्टनले इरानको आणविक महत्वाकांक्षा सीमित गर्न राखेका मागहरू जस्ता जटिल मुद्दा पछि वार्तामार्फत टुंग्याइनेछ ।




प्रतिक्रिया