हेटौंडा – मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश भएको छ । शुक्रबार बसेको वाग्मती प्रदेशसभाको सातौँ अधिवेशनमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
बैठकमा उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री एवं नेकपा सांसदसमेत रहेका अरुण नेपालले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव टेबुल गरेका छन् । टेबुल भएको प्रस्तावमाथि प्रदेश सभामा १९ गतेबाट छलफल हुनेछ ।
सांसद नेपालले प्रदेश सभा बैठकमा मुख्यमन्त्री पौडेललाई नेकपाको संसदीय दलको नेताबाट पदमुक्त गरिएको र नयाँ मुख्यमन्त्रीको रुपमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको बताए ।
उनले मुख्यमन्त्री पौडेलले तीन वर्षको अवधिमा जनताको पक्षमा कुनै काम गर्न नसकेको, प्रदेशलाई स्थापित गर्नबाट चुकेको, पार्टी हित विपरीत गतिविधि गरेका कारण अविश्वसको प्रस्ताव दर्ता गरेको बताएका छन् ।
वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल तथा सत्तारुढ नेकपा संसदीय दलका नेताहरुसँग गए राति आज दिउँसो १ बजे बैठक बोलाउने सहमति भएको थियो ।
प्रदेशसभाको कार्यपरामर्श समितिको बैठकले हिजो बैठक बोलाउन सभामुखलाई मुख्यमन्त्री तथा सत्तारुढ दलका नेताहरुसँग सहमति गरेर ल्याउन भनिएअनुसार सभामुख श्रेष्ठले बैठक आह्वान गरेको हो ।




प्रतिक्रिया