काठमाण्डु – सुदूरपश्चिमको डोटी जिल्लाका नौ स्थानीय तहमध्ये ०७४ को निर्वाचनमा एमाले एक्लैले पाँच पालिका जितेको थियो । कांग्रेसले तीन र माओवादी केन्द्रले एक पालिका जितेका थिए ।
एमालेले आदर्श गाउँपालिका, जोरायल गाउँपालिका, दिपायल–सिलगढी नगरपालिका, पूर्वीचौकी गाउँपालिका, सायल गाउँपालिका जितेको थियो । कांग्रेसले केआई सिंह गाउँपालिका, बडीकेदार गाउँपालिका, शिखर नगरपालिका जितेको थियो । माओवादी केन्द्रले बोगटान गाउँपालिका मात्रै जितेको थियो ।
गत निर्वाचनमा एमाले, कांग्रेस, माओवादी, राप्रपा, राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी फोरम, नेपाल दलित पार्टी, नयाँ शक्ति पार्टी र स्वतन्त्र उम्मेदारहरू मैदानमा थिए । तर, अहिले एमालेलाई ०७४ को बिरासत जोगाउन मुस्किल देखिएको छ । पार्टी विभाजन र गठबन्धन एमालेका लागि चुनौती बन्ने देखिएको हो ।
हाल सरकारका पर्यटनमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता प्रेम आले संघीय संसद्मा डोटी जिल्लाबाटै प्रतिनिधित्व गर्छन् । लगातार चुनाव जित्दै आएका आलेको जिल्लामा एकीकृत समाजवादीको ‘पकड’ राम्रै रहेको दाबी सो पार्टीका नेताहरूले गर्दै आएका छन् । सोही कारण एकीकृत समाजवादीका लागि पनि यो निर्वाचन ‘परीक्षा’ हुने देखिएको छ ।
०७४ को निर्वाचनमा एमालेबाट जितेका केही जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । त्यसैले भोट काटिने चिन्ता एमालेलाई छ । त्यसमाथि जिल्लामा कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच तालमेलको सहमति भयो भने एमालेलाई विगतको बिरासत जोगाउन मुस्किल हुने देखिन्छ ।
यद्यपि, थपिएका नयाँ मतदाता, दलहरूबीच हुने नयाँ समीकरण, एमाले विभाजन र ०७४ मा निर्वाचित जनप्रतिनिधिका काम नै आगामी चुनावमा हारजितका मुख्य फ्याक्टर बन्न सक्छन् । एमालेले भने जिल्लामा विभाजनको प्रभाव खासै नरहेको र काटिन सक्ने मत माओवादी केन्द्रका कार्यकर्ताबाट पूर्ति गर्दै विगतको बिरासत जोगाउने दाबी गर्दै आएको छ । तीन दलबीच तालमेल भएन भने मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबीच नै हुने देखिन्छ । गत निर्वाचनमा माओवादी तेस्रो शक्तिका रूपमा थियो ।
जिल्लामा अहिले स्थानीय चुनावका लागि ६ राष्ट्रिय र नौ राष्ट्रिय मान्यता प्राप्त नगरेका गरी १५ दल दर्ता छन् । ०७९ को स्थानीय निर्वाचनका लागि जिल्लामा ५८ हजार दुई सय ८२ पुरुष र ६५ हजार दुई सय ७२ महिला गरी जम्मा एक लाख २३ हजार पाँच सय ५४ मतदाता छन् ।
हेर्नुहोस्, डोटीमा ९ स्थानीय तहमा ०७४ को निर्वाचनको वडासम्मकै अंकगणित र थपिएका मतदाताको संख्या इन्फोग्राफमा ।





प्रतिक्रिया