काठमाण्डु – भारतको राष्ट्रिय सुरक्षा सल्लाहकारमा अजित डोभाल पुनः नियुक्त भएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले डोभालमाथि फेरि विश्वास जनाएर उनलाई तेस्रो पटक पुनः पाँच वर्षका लागि राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेका हुन् । उनको कामको योगदान हेरेर उनलाई पुनः सोही पदमा नियुक्त गरिएको हो ।
भारतमा राष्ट्रिय सुरक्षा सल्लाहकार प्रधानमन्त्रीको सबैभन्दा बढी विश्वसनीय अधिकारी मानिन्छ ।
डोभालको कार्यकाल प्रधानमन्त्री मोदीको कार्यकालसँगै सुरु हुनेछ । डोभाललाई भारत सरकारको केन्द्रीय मन्त्रीसरहको सुविधा प्राप्त हुनेछ । यसअघि पनि मोदी सरकारको पालामा डोभाल नै राष्ट्रिय सुरक्षा सल्लाहकार थिए ।
रणनीतिक मामिला र आन्तरिक सुरक्षामा राष्ट्रिय सुरक्षा सल्लाहकारले प्रधानमन्त्रीलाई मद्दत गर्छ ।
डोभाल भारतीय सुरक्षा निकायमा १९६८ व्याचका अफिसर हुन् । डोभल जासुसी क्षेत्रमा अब्बल कार्यक्षमता भएका अफिसर मानिन्छन् । उनले ३३ वर्षदेखि जासुसी अफिसरकारूपमा काम गरिरहेका छन् । उनले भारतको उत्तर पूर्व, जम्मु-कस्मिर र पञ्जावमा समेत काम गरेका छन् । पाकिस्तान र बेलायतका लागि उनले भारतीय कुटनीतिज्ञका रूपमासमेत काम गरेका छन् ।
यसका साथै प्रधानमन्त्रीले सरकारको मुख्यसचिवमा पीके मिश्रालाई नै निरन्तरता दिएका छन् ।




प्रतिक्रिया