भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यबाहक सभापति डीपी अर्यालले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीका सबै नेता र कार्यकर्तालाई तयारीमा जुट्न निर्देशन दिएका छन् ।
शनिबार भक्तपुरमा जिल्ला समितिद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अर्यालले अब संसद् पुन:स्थापनाको सम्भावना नरहेको बताउँदै नयाँ जनादेश नै मुलुकलाई निकास दिने एकमात्र विकल्प भएको स्पष्ट पारेका छन् ।
उनले भने, ‘अब पुरानालाई फर्काउने कुरा सकियो, देशलाई अघि बढाउन ताजा जनादेश आवश्यक छ । यो चुनावमा रास्वपाले एकल बहुमत ल्याउँछ, नत्र पनि सबैभन्दा ठूलो दलका रूपमा स्थापित हुन्छ ।’
कार्यबाहक सभापति अर्यालका अनुसार रास्वपा अब नयाँ शक्ति मात्र होइन, देशको मूलधारको राजनीतिक शक्ति बनिसकेको छ । उनले निर्वाचनलाई राष्ट्रिय परिवर्तनको अवसरका रूपमा लिन आग्रह गरेका छन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष परियार र नेत्री सोबिता गौतमले पनि निर्वाचनमा सहभागिता अनिवार्य रहेको उल्लेख गर्दै देशलाई संकटबाट निकाल्ने उपाय ताजा जनादेश मात्र भएको धारणा राखेका छन् ।
परियारले भने, ‘हामी जनताको आशा बनेका छौं । अब त्यसलाई पूरा गर्न सबै क्षेत्रमा संगठनात्मक रूपमा बलियो उपस्थिति बनाउनु आवश्यक छ ।’
नेत्री गौतमले पनि रास्वपाको अभियान ‘परिवर्तनका लागि जनमत’ भएको बताउँदै सबै तहमा चुनावी तयारी तीव्र पार्न आग्रह गरेकी छन् ।




प्रतिक्रिया