भ्रष्टाचार अन्त्य गर्न आन्तरिक गृहकार्य आवश्यक छ : कार्यबाहक सभापति अर्याल

भ्रष्टाचार अन्त्य गर्न आन्तरिक गृहकार्य आवश्यक छ : कार्यबाहक सभापति अर्याल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यबाहक सभापति डोलप्रसाद अर्यालले छोटो समयमा जनताले चाहेको निकास दिने हिसाबले गृहकार्य गरिरहेको बताएका छन् ।

बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकपश्चात उनले जनताले चाहेको निकास र नचाहेको भ्रष्टाचारको अन्त्य गर्नका लागि आन्तरिक गृहकार्य गर्नुपर्ने भन्दै त्यसमै सबैको ध्यान केन्द्रित रहेको बताए ।

उनले भने, ‘हामी जतिसक्दो छोटो समयमा जनताले चाहेको निकास, जनताले चाहेको सुशासन, जनताले नचाहेको भ्रष्टाचारको अन्त्य गर्नको लागि हामीले आन्तरिक गृहकार्य धेरै नै गर्नुपर्नेछ । त्यसकारण हामीले आन्तरिक गृहकार्यमा अलि बढी ध्यान दिनुपर्ने अवस्था छ ।’

पार्टीका उपसभापति स्वर्णिम वाग्लेले ताजा जनादेशको जेनजीको मागलाई साथ दिँदै आगामी कदमहरू चाल्ने बताए । उनले पुरानो २ वटा दलको बाहुल्यमा बनेको सरकारको औचित्य भदौ २३ गते समाप्त मात्र होइन, पूर्ण समाप्त भएको पनि बताए ।

उनले भने, ‘जेनजीको माग पनि त्यही हो र रास्वपाको पनि विचार त्यही हो कि ताजा जनादेशमा जानुपर्छ । पुरानो २ वटा दलको बाहुल्यमा बनेको सरकारको औचित्य समाप्त मात्र होइन, पूर्ण समाप्त भएको कुरा हामीले भदौ २३ गते नै गरेका थियौं र त्यहीँ २ वटा दलको बल कायम रहेको संसद्को वैधतामाथि पनि प्रश्न उठेको कुरालाई आत्मसाथ गर्दै आगामी निकास भनेर अबका घटनाक्रमहरू पनि छन् ।’

भदौ २३ गतेको दमन र २४ गतेको आगजनी, तोडफोड र हिंसाको निन्दा गर्दै छुट्टै न्यायिक छानबिन हुनुपर्ने मागलाई सरकारले सम्बोधन गरेर त्यसलाई पूर्ण रूपमा सघाउने पनि उनको भनाइ छ । उनले भने, ‘भदौ २४ गतेको अप्रिय घटना शृंखलालाई पनि पार्टीले त्यतिबेला नै २३ गतेको दमन र २४ गतेको आगजनी, तोडफोड र हिंसाको पनि हामीले निन्दा गर्दै त्यसको पनि छुट्टै न्यायिक छानबिन हुनुपर्छ भन्ने माग गरेका छौं । सरकारले पनि त्यसलाई सम्बोधन गरेर एउटा जाँचबुझ आयोग गठन गरेको छ । त्यसलाई पूर्ण रूपमा सघाउने कुरा छँदैछ, त्यसपछि अबको राजनीतिक कोर्स के हुन्छ भनेपछि फागुन २१ ताजा जनादेशका लागि आह्वान भएको छ । यद्यपि कामहरू गर्नै बाँकी छ ।’