लकडाउनले कोरोना नियन्त्रण हुँदैन, अहिलेकै मोडालिटी अनुसार जाऔंः डा.अरूणा उप्रेती

लकडाउनले कोरोना नियन्त्रण हुँदैन, अहिलेकै मोडालिटी अनुसार जाऔंः डा.अरूणा उप्रेती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनस्वास्थ्यका क्षेत्रमा काम गरिरहेकी डाक्टर अरूणा उप्रेतीले लकडाउनले न्यूनवित्त र कमजोर आय भएकालाई मारमा पार्ने भन्दै त्यो बाटो नरोज्न सरकारलाई सुझाव दिएकी छन् ।

गत जेठ २१ गतेको परामर्शमा पनि सहभागी भएकी डा. उप्रतीले त्यसबेला पनि आफूले लकडाउनले कोरोना नियन्त्रण नगर्ने र यथाशीघ्र खोल्न सुझाव दिएको बताउँदै यसपटक पनि त्यही विचारमा अडिग रहेको बताएकी छन् ।

‘लकडाउनले कारोना नियन्त्रण गर्दैन, त्यो हामीले देखिइसक्यौं । जुन ठाउँमा समस्या छ, त्यो क्षेत्र तोकेर लकडाउन, निषेधाज्ञामा जानुपर्छ,’ उनले भनिन्, ‘फेरि लकडाउनमा जाने हो भने भारी बोक्ने, पसल गरेर खानेहरू भोकभोकै मर्ने अवस्था आउँछ । चालकहरू, किसानहरू के गरेर खाने ?,’ उनी प्रश्न गर्दै भन्छिन्, ‘मल, डिपार्टमेन्टल स्टोरहरूचाहिँ चौबीसै घण्टा खुला गर्ने, गरिब, निमुखालाईचाहिँ किचेरै मार्ने नीति अपनाएर कोरोनाको असर कम हुँदैन । अहिलेकै मोडालिटी अनुसार अघि बढ्नु राम्रो हुन्छ ।’

मुलुक बन्दाबन्दी (लकडाउन)मा रहँदा पनि सरकारले अस्पतालको व्यवस्थापन, उपचारको प्रबन्धमा खासै ध्यान नदिएको भन्दै अबको लकडाउनले पनि कोरोना नियन्त्रण नहुने उप्रेतीको भनाइ छ । संक्रमण बढेको ठाउँ सिल गर्ने, नाकाहरूमा आवतजावत हुन नदिने हो भने कोभिड–१९ क्रमशः न्यूनीकरण हुँदै जाने उनको भनाई छ ।