असह्य पीडासँग संघर्ष गर्दै थिँए, पत्थरी भएको थाहै पाइनँः डा.भगवान कोइराला

असह्य पीडासँग संघर्ष गर्दै थिँए, पत्थरी भएको थाहै पाइनँः डा.भगवान कोइराला


काठमाण्डु – बरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर भगवान कोइरालाको पत्थरीको शल्यक्रिया गरिएको छ । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि काठमाण्डुको एक अस्पतालमा उनको शल्यक्रिया गरिएको हो । डा कोइरालाले फेसबुकमार्फत् आफ्नो मिर्गौलामा पत्थरी देखिएपछि शल्यक्रिया गरिएको जानकारी दिएका छन् ।

उनले लेखेका छन् , ‘मैले जीवनमा पहिलो पटक फोन उठाउन सकिनँ, मैले यसलाई बन्द गरिदिएँ । पछिल्ला तीन रात–दिन यता युरेटर र किड्नीमा देखिएको चार मिलिमिटर लामो पत्थरले दिएको असह्य पीडासँग म संघर्ष गर्दै थिँए । मलाई पत्थरी भएको कहिल्यै थाहा पाइनँ ।’

डा. कोइरालाले बुधबार बिहान २ बजेदेखि नै सहन कठिन हुने गरी दुःखाइ सुरू भएको बताएका छन् ।  उनले पत्थरीले पिसाबलाई रोकेको र इन्फेक्सन हुँदा मिर्गौलाले काम गर्न छाडेको बताएका छन् ।

‘सर्जन साथीले छिटोछिटो गरेका थिएँ, पत्थरलाई लेजर गरे, ट्युब खुला गरी पिसाब जाने बाटो खुलाइदिए । तर विषाक्त पदार्थ मेरो शरिरभरि थियो । म बेलुनजस्तै भएको थिएँ । मलाई ठिक हुन डेढ दिन लाग्यो,’ डा. कोइरालाले भनेका छन् ।

जिन्दगी अनिश्चित भएकाले सधैँ राम्रो काम गर्न सुझाउँदै उनले आफ्नो स्वास्थ्यको कामना गर्नेहरू प्रति र मेडिकल जाँच गर्ने टोलीप्रति धन्य भइरहने बताएका छन् ।