केयूमा योग्य व्यक्ति नियुक्ति गरियोस्ः डा केसी

केयूमा योग्य व्यक्ति नियुक्ति गरियोस्ः डा केसी


काठमाण्डु – काठमाण्डु विश्वविद्यालयमा योग्यता र अनुभवका आधारमा उपकुलपति नियुक्ति गर्न डा गोविन्द केसीले माग गरेका छन् ।

उपकुलपतिका लागि तीन दर्जनभन्दा बढी आवेदन परेपछि चिकित्सा शिक्षा सुधार अभियन्ता डा केसीले बिहीबार एक विज्ञप्ति जारी गरी गर्दै योग्यता र अनुभवका आधारमा उपकुलपति नियुक्त गर्न माग गरेका हुन् । उनले नियुक्ति प्रक्रिया निष्पक्ष र न्यायोचित हुनुपर्ने पनि बताएका छन ।

‘खासगरी मेडिकल शिक्षा नियमनमा गत वर्षहरूमा देखिएको चरम अनियमितता र बेथितिको केन्द्रमा काठमाण्डु विश्वविद्यालयका निवर्तमान पदाधिकारीहरू रहेका छन् । देशका आधाभन्दा बढी निजी मेडिकल कलेजहरू उक्त विश्वविद्यालय अन्तर्गत रहेकोमा ती मेडिकल कलेजका सञ्चालकहरूको स्वार्थ र इसारामा पदाधिकारीहरू चल्ने गरेका छन्,’ उनले भनेका छन् ।

उनले आफूसँग पछिल्लो सत्याग्रहमा भएका सम्झौताहरू समेत कार्यान्वयन हुने गरी, सक्षम र नैतिकवान व्यक्तिको नियुक्ति अघि बढाउनुपर्ने बताएका छन् ।