लुकेका क्षयरोगीलाई खोज्ने प्रयासमै छौँ : डा. प्रकाश शाह

लुकेका क्षयरोगीलाई खोज्ने प्रयासमै छौँ : डा. प्रकाश शाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रकाश प्रसाद शाहले नेपालमा प्रति वर्ष ३० देखि ३५ हजारसम्म क्षयरोगी फेला परेको बताएका छन् ।

नेपाल क्षयरोग निवारण संस्थाले ६८औं क्षयरोग निवारण दिवसको अवसरमा गरेको कार्यक्रममा डा शाहले क्षयरोगीको अवस्था पत्ता लगाउन धेरै काम गरीरहेको दाबी गरेका छन् । उनले प्रिभेलेन्स सर्भेले बर्षेनी ६९ हजार क्षयरोगी थपिने जनाएपनि हालसम्म ३०, ३५ हजार मात्र फेला पार्न सकेको बताएका छन् ।

समुदाय स्तरमा क्षयरोगीहरु लुकेर बसेको अवस्थाका कारण फैलन सक्ने जोखिम बढेको बताए । उनले भने, ‘जुन केस हाम्रो सम्पर्कमा आएनन, स्वास्थ्य संस्थामा पुगेनन त्यस्ता केसहरु जुन समुदायमा लुकेर बसेका छन् । त्यसबाट सर्ने सम्भावना बढ्यो ।’ नेपालमा कुल जनसंख्याको ४५ प्रतिशत व्यक्तिहरु क्षयरोगबाट संक्रमित भएको अनुमान गरिएको छ।

‘राष्ट्रिय क्षयरोग प्रिभेलेन्स सर्भे–२०१९’ को प्रतिवेदन अनुसार नेपालमा क्षयरोगीको संख्या ६९ हजार देखिन्छ । नेपालमा प्रति एक लाख जनसंख्यामा ४१६ क्षयरोगका बिरामीहरु छन्। आर्थिक वर्ष २०७६/७७ मा कुल २७ हजार ७४५ क्षयरोगका बिरामीहरु उपचारमा थिए ।

नेपालमा प्रत्येक दिन ४७ जनाको क्षयरोगबाट मुत्यु हुने गरेको अनुमान गरिएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष मदनकाजी श्रेष्ठले क्षयरोगीहरुको पहिचान गरी उपचार गराउन सबैले सहयोग गर्नुपर्ने बताए । नेपाल क्षयरोग निवारण संस्थामा योगदान गर्ने कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।