ओलीका कारण प्रजातन्त्र धरापमा पर्‍योः अध्यक्ष लोहनी

ओलीका कारण प्रजातन्त्र धरापमा पर्‍योः अध्यक्ष लोहनी


मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण प्रजातन्त्र धरापमा परेको बताएका छन् ।

मोरङमा पार्टीको झन्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले जनताले स्थिर सरकारको निमित्त झन्डै दुईतिहाइ मत नेकपालाई दिए पनि त्यसको सदुपयोग गर्न नसकेको बताएका छन् ।

उनले नेकपाको आपसी घर झगडाका कारण जनप्रतिनिधिमुलक संस्थाको विघटन गरेको बताउँदै नेपालको संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार कतै नदिएको बताए । संसद बिघटन कार्यको वैधानिकताको विषयमा अदालतले गर्ने फैसला ऐतिहासिक हुने बताउँदै उनले कानुनी राज्यप्रति सवैको आस्था रहेको बताएका छन् ।

उनले राजनैनिक तथा कुटनैतिक रुपमा सरकार असफल भइसकेका कारण वर्तमान सरकारको कारण अन्तर्राष्ट्रिय रुपमा नेपालको छविसमेत धमिलियको बताएका छन् । उनले प्रधानमन्त्री ओलीको सर्वसत्तावादी चिन्तनको कारण प्रजातन्त्र धरापमा परेको र आफूहरु प्रजातन्त्रको संरक्षणका निमित्त राजसंस्था स्थापनार्थ आन्दोलनरत रहेको बताए ।

फरक प्रसंगमा उनले राजसंस्था र हिन्दुराष्ट्र राप्रपाको मूल सिद्धान्त रहेकाले यसको रक्षा, संरक्षण गर्नु आफुहरुको कर्तव्य रहेको बताए । भ्रष्टाचार र शक्तिको दुरुपयोग असाधारण रुपमा बढेको उल्लेख्य गर्दै यो प्रविधि नियन्त्रण जनता अब जुर्मुराउनु पर्ने बताए ।

उक्त कार्यक्रममा पार्टीका अन्य नेताहरु श्याम तिमिल्सिना, जनकराज पाठक, सगुन लावती पाठक, राजु लोहनी, नरेश राईलगायतले सम्बोधन गरेका थिए ।