डा. शेखर कोइराला गएनन् ७७ जिल्ला सभापति र उपसभापतिहरूको भेलामा

डा. शेखर कोइराला गएनन् ७७ जिल्ला सभापति र उपसभापतिहरूको भेलामा


काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका ७७ जिल्लाका सभापति तथा उपसभापतिहरूलाई प्रशिक्षण दिने कार्यक्रममा नेता डा. शेखर कोइराला अनुपस्थित भएका छन् ।

१४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनेर निकटतम् प्रतिद्वन्द्वी भएका कोइराला पार्टीका जिल्ला सभिापति र उपसभापतिहरूको भेलामा अनुपस्थित भएका हुन् ।

कांग्रेस महामन्त्री गगन थापाका अनुसार उपसभापति पूर्णबहादुर खड्का प्रमुख रहेको प्रतिष्ठानले आज र भोलि पोखरामा पार्टीका ७७ जिल्लका सभापति र उपसभापतिलाई प्रशिक्षण दिने कार्यक्रम छ । त्यो कार्यक्रममा कोइराला सहभागी नभएका हुन् ।

कोइरालाले भेलाबारे आफूलाई कसैले पनि जानकारी नगराएकाले पोखरा नजाने निकटस्थहरूलाई बताएका छन् । गृहजिल्ला विराटनगरमा रहेका कोइराला जानकारी नगराएको कार्यक्रममा कसरी जानु भन्ने प्रतिक्रिया नेता कार्यकर्तालाई दिएको कांग्रेसको विराटनगरका एक नेताले जानकारी दिए ।

पार्टीको संगठनात्मक गतिविधिको जानकारी र समसामयिक मुद्दाका विषयमा छलफल गर्न बोलाइएको भेलामा पार्टीका पदाधिकारीसहितका अधिकांश नेताहरू पोखरामा छन् ।

कांग्रेसमा उपसभापति खड्कासँग डा. कोइरालाको वरियतामा विवाद थियो पछि सभापति शेरबहादुर देउवाले खड्कालाई दोस्रो वरियता दिएर कोइरालालाई पदाधिकारी र पूर्वपदाधिकारीभन्दा तलको वरियता दिए । त्यसपछि खड्का उपस्थित हुने कार्यक्रममा कोइराला जादैनन् ।

कोइराला यसअघि पार्टीले विराटनगरमा गरेको महानगरका सभापतिहरूको भेलामा पनि गएका थिएनन् ।