कीर्तिपुर रंगमञ्चमा १३ कलाकारको सामूहिक चित्र प्रदर्शनी


काठमाडौं – कीर्तिपुर रंगमञ्चमा ‘क्यानभास एट थिएटर’ सामूहिक चित्र प्रदर्शनी सुरु भएको छ । राराहिल कीर्तिपुरस्थित थिएटर मलको नाटकघर परिसरमा समकालिन कलाका युवा कलाकारहरुको सिर्जना प्रदर्शनीमा राखिएको हो ।

नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’को मञ्चनसँगै कीर्तिपुर रंगमञ्चमा इचिङ र पेन्टिङगरी दुई विधाका ३० चित्रहरु प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा रहेका चित्रहरुले समकालिन नेपाली समाजप्रतिको चिन्ता र चासो अभिव्यक्त गरिएका छन् ।

युवा कलाकारहरुले आफ्नो सिर्जनामा चेनतशील मानव सभ्यताका विकृति, कुसंस्कार, उत्पीडनलाई प्रतिरुप स्वरुप उतारेका छन् । त्यस्तै मानवीयता, लैंगिकता, भूमण्डलीकरण प्रकृति, आशा र संघर्षलाई रंगका माध्यमबाट अभिव्यक्त भएका चित्र सिर्जनाहरुमा प्रदर्शनीमा रहेका छन् ।

प्रदर्शनीमा भिजिट नेपाल २०२० को लोगोका सिर्जनाकारदेखि विभिन्न विश्वविद्यालयबाट दिक्षित सक्रिय १३ कलाकारहरुको सिर्जना राखिएको छ । कलाकारहरु उद्धवराज रिमाल, टिकादत्त दाहाल, दीपमाला महर्जन, नारायणप्रसाद बोहजु, भिषण राजभण्डारी, मनिषा मानन्धर, रुकुमणी श्रेष्ठ, विद्यमान तामाङ, सन्तोष सिग्देल, सुजिता महर्जन, सुमन महर्जन, सुवास तामाङ, सोनी राईको सामूहिक प्रदर्शनीलाई ‘क्यानभास एट थिएटर’ नाम दिइएको हो ।

सहभागी कलाकारहरुले विभिन्न राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय सेमिनार तथा प्रदर्शनीहरुमा सहभागिता जनाइसकेका छन् । कलाका माध्यमहरु आफै पृथक र एक अर्काका परिपूरक रहेको औंल्याउँदै प्रिन्ट मेकीङ कलाकार सुजिता महर्जनले थिएटरमा कला प्रदर्शनीको संयोजन गरेका हुन् ।

प्रदर्शनीको उद्घाटनमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले कीर्तिपुरमा युवा कलाकारहरुको स्वागत गरेका थिए । साथै कीर्तिपुरलाई कलानगरीको रुपमा विकास गर्न आफू तयार रहेको मेयर महर्जनले प्रतिवद्धता जाहेर गरे ।

 

प्रदर्शनीको उद्घाटनमा थिएटर मलका कलाकारहरुको ‘हामी बोल्छौं’ शीर्षकको विम्वात्मक प्रस्तुति पनि दिएका थिए । जसमा रंगकर्मीहरु मनिष व्याञ्जु, स्नेहा रसाइली, कञ्चन संग्रौला, रोसन केसी, अनिल थपलिया, कुमार थापा, सरोज राई, शंकर भण्डारीको अभिनय तथा शक्ति पाख्रिनले निर्देशन गरेका थिए ।

थिएटर, कलाका विविध माध्यमहरुको संगम रहेको बताउँदै थिएटर मलका कला निर्देशक केदार श्रेष्ठले कला–संस्कृतिको अभियानमा समन्वय र सहकार्यको अत्यावश्यकतामाथि बहसको आशा गरेको उल्लेख गरे । प्रदर्शनी आगामी माघ ४ गतेसम्म जारी रहनेछ । साथै नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’ पनि माघ ४ सम्म मञ्चन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement