कञ्चनपुरमा चरेशसहित भारतीय नागरिक पक्राउ

कञ्चनपुरमा चरेशसहित भारतीय नागरिक पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर – कञ्चनपुर प्रहरीले शुक्रबार दिउँसो महेन्द्रनगर बजार क्षेत्रबाट दुई किलो ८०० ग्राम चरेशसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बजार क्षेत्रमा कवाड सङ्कलन गर्दै आएका भारतको बिहारका राधेश्याम जैसवाललाई चरेशसहित नियन्त्रण लिएको बताए ।

“कवाड सङ्कलन गरेको ठाउँबाट हामीले उक्त परिमाणको चरेश बरामद गरेका हौँ”, उनले भने, “विस्तृतमा प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान गर्दैछ ।” विगत एक दशकयता महेन्द्रनगरमा कवाड सङ्कलन गर्दै आएका जैसवालले कवाडी राखेको बोराबाट चरेश बरामद भएको प्रहरीले जनाएको छ ।

“कवाड सङ्कलनस्थलमा अहिले प्रहरीले घटनास्थल मुचुल्का सङ्कलन गरिरहेको छ”, बमले भने, “चरेश कसले कहाँबाट ल्यायो भन्ने विषयमा सघन अनुसन्धान हुन्छ ।” पछिल्लो केही वर्षयता लागूऔषध नियन्त्रणका लागि सक्रियरूपमा खटिएको कञ्चनपुर प्रहरीले यहाँ दिनहुँ जसो लागुऔषध चरेश, ब्राउनसुगरसहित अभियुक्त पक्राउ गरिरहेको जनाएको छ ।