काठमाण्डु – सरकारले बालकुमारी घटनामा संयमता कायम नगरेको भन्दै दुई प्रहरी अधिकारीलाई निलम्बन गरेको छ ।
शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पीएसओ प्रहरी नायब निरीक्षक (सई) बोधराज दनुवार र सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेश जोशीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)को छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले यसबारे जानकारी दिएका हुन् । सो घटनामा अदालतको पनि केही कमजोरी देखिएको उनको भनाई छ ।
यस्तै, ललितपुरका एसएसपी शिद्धिविक्रम शाहलाई प्रहरी हेडक्वार्टर र सिडिओ रूद्रप्रसाद पण्डितलाई थप सोधपुछका लागि गृह मन्त्रालय तानिएको छ। यस्तै, इपिएस शाखाका निर्देशक गुरूदत्त सुवेदीलाई सरूवा गर्ने निर्णय पनि सरकारले गरेको छ।
शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए।
त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको थियो। घटनामा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो।




प्रतिक्रिया