खोटाङ – खोटाङम दुई बालकको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको छ। विद्यालयबाट घर फर्कँदा स्थानीय चङ्कु खोला दहमा डुबेर जिल्लाको ऐसेलुखर्क गाउँपालिका १ राखाबाङ्देल खिरुका ११ वर्षीय अर्जुन राई र ९ वर्षीय राज राईको मृत्यु भएको खोटाङ जिल्ला प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिए ।
उनीहरु शुक्रबार दिउँसो विद्यालयबाट घर फर्कँदै गर्दा गर्मी छल्न भन्दै दहमा पौडी खेल्न पस्दा डुबेर निधन भएको डिएसपी खड्काले बताए । मृत्यु हुने अर्जुन र राज एकाघरका दाजुभाइ टंकराम राई र भोजकुमारका छोरा भएको उनले बताए।
घटनास्थल इलाका प्रहरी कार्यालय ऐसेलुखर्कभन्दा निकै टाढा पर्ने र खबर पनि ढिला भएकाले टोली पठाएर उद्धार गर्न खोजे पनि संभव नभएको बताए। प्रहरीले घटनास्थलको सर्जमिन मुचुल्का गरी शनिबार दुवैको शव पोष्टर्माटमका लागि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क पठाएको छ। पोष्टमार्टम गरेपछि शव आफन्तको जिम्मा दिने गरी प्रक्रिया अघि बढाइएको डिएसपी खड्काले बताए।
स्थानीय जनहित आधारभूत विद्यालयका अर्जुन कक्षा ५ का विद्यार्थी हुन् भने राज ४ कक्षामा पढ्दै गरेका थिए।




प्रतिक्रिया