काठमाण्डु – अभियन्ता दुर्गा प्रसाईंले प्रधानसेनापति अशोकराज सिग्देलसँग भएको भेटवार्तापछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका छन् ।
प्रधानसेनापति सिग्देलसँग दिनभर भएको लामो छलफलपछि उनले आफू नेतृत्वको मोह नभएको स्पष्ट पारेका छन् ।
फेसबूकमा लेख्दै प्रसाईंले भनेका छन्, ‘देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो । जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेनजी वा सुशीला कार्कीजी जोसुकै तयार छन्, उनीहरूको नेतृत्व स्वीकार्न तयार छु ।’
कोही अगाडि नबढे आफू पन्छिने स्वभाव नरहेको भन्दै उनले जुनसुकै परिस्थितिका लागि पनि तयार रहेको दोहोर्याएका छन् । ‘आजको विषम घडीमा म सस्तो राजनीति र टीकाटिप्पणीमा लाग्दिनँ । अब चाहिएको कुरा हो – गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटोको खोज,’ प्रसाईंले लेखेका छन् ।
उनले सहज निकासका लागि सबैको साथ र सुझाव अपरिहार्य रहेको उल्लेख गर्दै यो केवल एक पुस्ताको मात्र नभई सम्पूर्ण राष्ट्रको भविष्यको प्रश्न भएको बताए । प्रसाईंले भने, ‘अब समय आएको छ, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशलाई बाँच्ने बाटो देखाउने साझा जिम्मेवारी पूरा गर्ने ।’




प्रतिक्रिया