काठमाण्डु – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जेनजीहरूको आन्दोलन पश्चिमाहरूको खेल रहेको बताएका छन् ।
मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आन्दोलन युवाहरूलाई उचालेर मार्ने पश्चिमाहरूको खेल रहेको दाबी गरेका हुन् ।
उनले भने, ‘हिजो हामीले उठाएका मुद्दाहरू जेनजीका बच्चाहरूले उठाउँदा सहयोग गर्नुपर्छ भनेर मैले एउटा पोष्ट गरें । यो भष्ट्राचार विरुद्धको आन्दोलन, तस्कर लखेट्ने आन्दोलन भएको कारण म आफैं सरिक हुन्छु भनेर पवित्र मनले स्टाटस लेखें । त्यसको २ घण्टापछि महानगरका प्रमुख बालेनजीको स्टाटस आयो । कस्तो आयो भने आन्दोलन २८ वर्ष मुनिको हो, २८ वर्ष माथिका जानै हुँदैन ।
उनले थप अगाडि भने, ‘कुनै राजनीतिक दल पनि जाने होइन, अभियन्ता पनि जाने होइन भनेर लेखेपछि त्यतिखेरै मेरो टीमलाई यो खेल पश्चिमाहरूको खेल हो है भनेको थिए । त्यो अब प्रष्ट भयो । बच्चाहरू उचालेर मार्ने काम हुँदैछ भनेर टीमसँग सल्लाह गरें ।’
उनले आन्दोलन सुरु भएपछि बर्बरतापूर्वक दमन हुँदा रमिते मात्रै हुनुपरेको भन्दै आन्दोलनसँगै नेपालमा विदेशी हस्तक्षेप बढेको बताए ।
‘आन्दोलन सुरु भएपछि बर्बरतापूर्वक दमन गरियो । कलिला बच्चाहरूको त्यो आन्दोलनको नेतृत्व गर्ने कोही भएन । हामी रमिते मात्र भयौं । भोलिपल्ट सबै भत्काउन मात्रै लागे । सिंहदरबारमा आगो लगाउन थाले । सर्वोच्च अदालतमा आगो लाग्यो । यो त हुँदै नहुने कुरा भयो । हामी पनि छक्क पर्यौं ।’
उनले अहिले बनेको सरकार जेनजीको सरकार नभई विभिन्न विदेशी फाउन्डेसनको सरकार रहेको बताए । उनले भने, ‘अहिले बनेको सरकार जेनजीको सरकार होइन, जेनजीलाई हाइज्याक गरेर बारबरा फाउन्डेसन र समता फाउन्डेसनका सुकिला–मुकिला मन्त्री बनेका छन् ।’
प्रसाईंले नेपाललाई वैदिक सनातन हिन्दू राष्ट्र बनाउनुपर्ने धारणा राख्दै दशैंपछि हिन्दू अधिराज्य कायमको माग राखेर आन्दोलन गर्ने बताए । ‘हामी दशैं, तिहार र छठपछि यो देशमा हिन्दू राष्ट्र र वैदिक सनातन धर्मसापेक्ष किराँत, बौद्धसहितको हिन्दू अधिराज्य कायमको माग राखेर आन्दोलन गर्छौं,’ पत्रकार सम्मेलनमा उनले भने, ‘पुन:स्थापना नभएसम्म आन्दोलन रोकिँदैन ।’




प्रतिक्रिया