हेटौंडामा २५ मिटर सडक विस्तारबारे दुर्गा प्रसाईंको आपत्ति

हेटौंडामा २५ मिटर सडक विस्तारबारे दुर्गा प्रसाईंको आपत्ति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर – हेटौंडा बजार क्षेत्रमा जारी २५ मिटर सडक विस्तारको विषयमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारको शैली र मुआब्जा प्रक्रियाप्रति कडा आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले उचित क्षतिपूर्ति नदिई नागरिकका घरमा बुलडोजर चलाउनु अन्यायपूर्ण भएको टिप्पणी गरेका छन् ।

प्रसाईंका अनुसार भारतमा रेल्वे ट्रयाक वा सडक विस्तारका क्रममा प्रभावित नागरिकलाई सरकारी दरभन्दा ३ गुणा बढी मुआब्जा दिइएपछि मात्र परियोजना अघि बढाइने प्रचलन छ । ‘त्यो उदाहरण पर्खिनु पनि पर्दैन, छिमेकी भारतकै अभ्यास हेर्नुपर्छ, जहाँ नागरिकले राज्यको कामलाई स्वागत गर्छन्,’ उनले लेखेका छन् ।

तर नेपालमा भने यसको ठीक उल्टो अवस्था देखिएको भन्दै उनले सरकारलाई चेतावनी समेत दिएका छन् ।

‘मकवानपुर–हेटौंडा बजार क्षेत्रमा सडक विस्तारको नाममा उचित मुआब्जा नदिई नागरिकका घरमा डोजर चलाउने वा दीर्घकालीन व्यवस्थापनको योजना पनि नबनाई सुकुम्बासीका टहराजस्ता काम नगर्नू,’ उनको पोस्टमा उल्लेख छ ।

सामाजिक सञ्जालको पोस्टमार्फत प्रसाईंले राज्यले नागरिकलाई भूमिहीन बनाउने, व्यवसायीलाई विस्थापित गर्ने र बिना योजनाका घरभत्काई कार्य तुरुन्त रोक्नुपर्ने बताएका छन् ।

उनको भनाइ अनुसार सडक विस्तार आवश्यक भए पनि समाधान छलफल, वार्ता र उचित क्षतिपूर्तिबाट खोजिनुपर्छ । ‘राज्यको काम जनतालाई विस्थापित गर्नु होइन, सुरक्षित राख्नु हो,’ प्रसाईले लेखेका छन् । सडक विस्तारका लागि वैकल्पिक मार्ग प्रयोग गर्न सकिने उनको सुझाव छ ।

हेटौंडामा २५ मिटर सडक विस्तारलाई लिएर व्यापारी र स्थानीय वासिन्दाले निरन्तर आन्दोलन गरिरहेका बेला दुर्गा प्रसाईको यस्तो अभिव्यक्ति सार्वजनिक भएको छ ।