प्रधानमन्त्री कार्कीसँग प्रसाईंको भेटवार्ता, ‘देश सम्झौताले होइन, जनताको आदेशले चल्नुपर्छ’

प्रधानमन्त्री कार्कीसँग प्रसाईंको भेटवार्ता, ‘देश सम्झौताले होइन, जनताको आदेशले चल्नुपर्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सामाजिक अभियन्ता दुर्गा प्रसाईंले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् ।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले देशमा शान्ति कायम राख्न आग्रह गर्दै प्रसाईंलाई शान्तिको प्रतीक भगवान् गौतम बुद्धको तस्वीर उपहारस्वरूप प्रदान गरेका छन् ।

प्रधानमन्त्रीसँगको वार्ता केवल औपचारिकतामा मात्र सीमित नरहेको दाबी गर्दै प्रसाईंले भेटले सत्ताको कोठासम्म भूइँमान्छेको आवाज जबरजस्त रूपमा प्रवेश गराएको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

‘अब निर्णय गर्ने ठाउँमा जनताको पीडा, आक्रोश र अपेक्षा गुञ्जिन थालेको छ,’ उनले लेखेका छन् ।

प्रसाईंले आफ्नो मुख्य एजेन्डा जनमत संग्रह केवल नारा मात्र नभएर जनताको सार्वभौम अधिकार भएको जिकिर गरे । उनले सत्ताले सडकको आवाज बेवास्ता गर्न नहुने चेतावनी दिँदै जनताको मतलाई नीति बनाउने वा आन्दोलनको सामना गर्ने भन्ने निर्णय अब सरकारको हातमा रहेको बताए ।

‘देश सत्ता–सम्झौताले होइन, जनताको आदेशले चल्नुपर्छ,’ उनले लेखेका छन् । प्रधानमन्त्रीसँगको शृंखलाबद्ध संवादको अन्तिम वार्ता आगामी बिहीबार हुने जानकारी समेत प्रसाईंले दिए । पछिल्लो समय प्रसाईंले नेतृत्व गरेको आन्दोलन र सरकारबीचको संवादलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।