बालेनले प्रधानमन्त्री बन्ने हो भने पहिले जेनजीका माग पूरा गर्नुपर्छ : दुर्गा प्रसाईं

बालेनले प्रधानमन्त्री बन्ने हो भने पहिले जेनजीका माग पूरा गर्नुपर्छ : दुर्गा प्रसाईं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले काठमाण्डु महानगर प्रमुख बालेन्द्र शाह ‘बालेन’लाई चुनाव लड्ने र देशको प्रधानमन्त्री बन्ने हो भने पहिला जेनजीको माग पूरा गर्न चुनौती दिएका छन् ।

मंगलबार जेनजी र महाअभियानसहित राष्ट्रवादी समूहहरूको संयुक्त जनआन्दोलन घोषणा सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘म २३ गतेको आन्दोलनमा सहभागी हुँदा बालेनजीले कुनै राजीतिक दलका नेता र बैलाहा अभियान्ताहरू नआउनुहोला, भन्नुभयो । म होइन तपाईं बौलाहा हो । तपाईंलाई चुनाव लडेर देशको प्रधानमन्त्री बन्ने इच्छा छ भने पहिला जेनजीको माग पूरा गर्नुहोस् ।’

उनले जेनजी अगुवा रक्षा बमप्रति पनि आलोचना गरेका छन् । ‘विश्वमा चिनिने एउटा सगरमाथा हो, अर्को सिंहदरबार । तर सिंहदरबारमा आगो योजना बनाएर लगाइयो । आगो लगाइएको सिंहदरबारमा अगाडि गएर एउटा फोटो खिच्ने लड्कीलाई जेनजीको लिडर मानियो । मिडियाहरूले लिडर भन्दै लेखेका छन् । जेनजीहरू आज छटपटाएर हस्पिटलमा छन् तर मिडियाहरूले उनीहरूको बारेमा लेख्दैन,’ उनले भने ।

प्रसाईंले आफूले जेनजीहरूलाई सहयोग गर्दा प्रधानमन्त्रीको माग नगरेको बताउँदै जेनजीहरूलाई अगाडि सारेर पछाडि गोठालोको काम गर्न आफू तयार रहेको बताए ।

‘जेनजीहरूलाई सहयोग गर्दा प्रधानमन्त्रीको माग गरेको छैन् । जेनजीहरुलाई अगाडि सारेर म पछाडि गोठालोको काम गर्नेछु,’ उनले भने । उनले मेयर शाहलाई गरीब होइन, गरीबी हटाउने सोच लिएर आउन सुझाए ।