काठमाण्डु – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कारबाही प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगले पठाएको पत्र नेपाल प्रहरीको साइबर ब्युरोमा पुगेको छ ।
आयोगबारे मिथ्या तथा भ्रामक सूचना फैलाएको भन्दै आवश्यक कारबाहीका लागि आईतबार ब्युरोमा पत्र पठाइएको छ ।
शनिबार पत्रकार सम्मेलन गरेर प्रसाईंले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिकता दिँदा ५२ करोड रुपैयाँको लेनदेन भएको दाबी सहितको अपुष्ट भिडिओ सार्वजनिक गरेका थिए । भिडिओ र प्रसाईंको भनाइलाई आधार बनाएर विभिन्न सामाजिक सञ्जालका पेजले भ्रामक सामग्री पोस्ट गरेपछि आयोगले कानूनी कदम चालेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले संस्थाको गरिमामा आँच पुर्याउने गरी गलत सूचना प्रवाह गरिएकाले कारबाहीका लागि आग्रह गरिएको बताए । उनले भने, ‘आयोगका विषयमा मिथ्या सूचना फैलाइएकाले हामीले साइबर ब्युरोलाई आवश्यक कारबाहीका लागि पत्र पठाएका छौं ।’
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले ब्युरोमा निर्वाचन आयोगबाट पत्र आएको बताएका छन् ।




प्रतिक्रिया