जसलाई मुटुको अंश ठानेकी थिएँ उसैले घात गर्‍यो

जसलाई मुटुको अंश ठानेकी थिएँ उसैले घात गर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जुम्लाको चन्दननाथ नगरपालिकाकी दुर्गा पण्डितले २०६५ सालमा आफ्नै प्रेमी आचार्य वाडाका वसन्त आचार्यसँग विवाह गरिन् । आफुले चाहेको मानिससंग जिन्दगी विताउने लाखौं सपना देखेर बुबा आमाको मनले नखाएको केटासंग भागेरै विवाह गरिन् । विवाह पूर्व धेरै सपना देखाउने, सँगै मर्ने, सँगसँगै बाच्ने कसम खाएका प्रेमीसँग विवाह गर्दा जीवन सहज होला भनेर परिवार त्याग्ने निणयमा पुगेकी थिइन् ।

सायद आजको दिन आउला भन्ने सोचेको भए उनले उक्त जोखिमपूर्ण निर्णय लिने थिइनन् होला । घरमा विरामी बुबा, अनि सबैभन्दा बढी माया गर्ने आमा दाजुभाईको साथ छाडेर ती युवकसंग जाने थिइनन् होला दुर्गा । १० वर्ष देखिको प्रेम जसलाई उनले आफूलाई भन्दा बढी माया गर्ने गरेकी थिइन् । त्यसैले आमा बुवाले पछि स्वीकार गरिहाल्छन् नि भनी उनले प्रेमीसँग विवाह गरिन् । जुम्लाबाट कीर्तिपुरमा डेरामा बसेका बसन्तलाई दुर्गाले केके सम्म गरिनन् । प्रेमीको पढाइ खर्चदेखि लिएर घर खर्चसमेत उनैले दिने गरेकी थिइन् ।

दुर्गाको माइती घर ललितपुर एकान्तकुनामा रहेकाले दुर्गालाई खासै समस्या थिएन । बसन्तको आवश्यकता माइतीबाटै पुरा गरेकी थिइन । बसन्तलाई दुर्गाको माइतीले खासै रुचाएका थिएनन् तर, दुर्गाको प्रेम देखेर सबै मौन थिए । जब विवाह गरिन त्यसपछि दुर्गाको जिवन सोचेभन्दा उल्टो गतिमा हिँड्न थाल्यो । बिहेपछि दुर्गालाई माइतीमै बसिरहन ठिक लागेन । एकान्तकुनाकै खड्का टोलमा डेरामा बस्ने निधो गरिन् । जब डेरामा सरिन् उनलाई बसन्तले असली रुप देखाउन थाले ।

 

बसन्तमात्रै होइन, उनको सिंगै परिवारले दुर्गालाई मानसिक तनाव दिन थाले । उनिहरुले सँधै माइतीबाट सम्पति ल्याउन दुर्गालाई दवाव दिइरहन्थे । आफुलाई सबैभन्दा माया गर्ने ठानेर रोजेको बसन्तले पनि दुर्गालाई माइतीको अंश माग्न दबाब दिन्थे । एक त परिवारको राजीखुसी बिनाको विवाह, अर्को तर्फ मुटुको टुक्रा ठानेको श्रीमानले समेत तनाव दिन थालेपछि दुर्गालाई यो भन्दा पिडा के भयो होला र ? तरपनि हार नमानी आफ्नै कमाई खाने भन्दै खड्का टोलमै पसल गर्न थालिन् । माइतीबाट अंश नलिएको निहुँमा दिनहुँ वसन्तले दुर्गालाई तनाव दिन थाले ।

जुम्लामा जन्मिएपनि दुर्गाको बढाई पढाई भने काठमाण्डुमा भएको थियो । दुर्गा भन्छिन्, ‘मैले त साँचो र निस्वार्थ प्रेम गरें । तर, उसको आँखा माइतीको सम्पतिमा रहेछ उसको असलियत थाहा पाउन मलाई १० बर्ष लाग्यो । जसलाई मैले पढाएँ । मेरो  माइतीले दिएको सुन बेचेर उसलाई मैले पढाएकी थिएँ । उसका हर आवश्यकता पुरा गर्न कुनै कसरत बाकी राखिन, त्यसको उपहारमा मलाई उसले चोट दियो ।’

त्यसपछि बसन्तले विश्व खाद्य कार्यक्रममा जागिर पनि खाए । जागिर खाएपनि उसको आँखा माइतिको ललितपुरमा रहेको घरमा गाडियो । दुर्गा भन्छिन्, ‘तेरो माइतीको जग्गा माग । हामीलाई पनि त सम्पत्ति चाहियो भन्थ्यो । कति यातना दिन्थ्यो । म त मर्नु न बाँच्नु भएकी थिएँ । जबकि मैले उसका लागि सबैलाई त्यागेर आएकी थिएँ । माइतीको अनुमति बेगर विवाह गरेपछि कसरी सम्पति खोज्दै जाने ?।’ काठमाण्डुमा रहँदा सम्म उसले सँधै यातना दिएको दुर्गाले सुनाइन् । जब बसन्त झापा सरुवा भएर गए त्यसपछि दुर्गालाई वास्ता गर्नै छाडे । दुर्गा भने सम्बन्ध जोगाउन निकै मेहनत गरिरहीन् ।

मनलाई गाँठो पार्दै उनले थप पीडा पोखिन्, ‘एक त आफैंले मन पराएर आएँ । अब मलाई हेला ग¥यो भनेर कसरी सुनाउँ ?’ उनले झापा गएका श्रीमानलाई सम्पर्क गर्ने प्रयास जारी राखिन् । तर, दुर्गाले गरेका कुनै पनि फोनको जवाफ बसन्तबाट आउँदैनथ्यो । उनले फोन नै काटिदिन्थे । उनले अन्य मानिसको मुखबाट बसन्त झापामा अर्कै केटीसँग बस्ने गरेको सुनिन् । आफ्ना श्रीमानको चालचलन हेर्न उनी झापा पनि पुगिन् । झापामा बसन्तको कार्यालयका हाकिम र घरबेटीबाट जुन कुरा थाहा पाइन्, त्यसले उनी झसङ्ग भइन् । बसन्तले अविवाहित भनेर झापामा अर्की केटीसँग बस्दै आएको खुल्यो । त्यस बेला काठमाण्डु आएर कुरा गर्ने भन्दै दुर्गालाई बसन्तले पठाए । त्यतिबेलासम्म दुर्गा र बसन्तको विवाह दर्ता भएको थिएन ।’

‘जुम्ला गएर विवाह दर्ता गर्ने भन्दै मलाई प्लेनमा नेपालगन्ज पठाएर उ फेरि झापा गयो,’ दुर्गाले त्यो दिन सम्झिइन् । विवाह दर्ता हुँदै भएन । दुर्गा र बसन्तबीच सम्बन्ध लगभग टुटिसकेको थियो । २०७० सालमा दुर्गा न्याय माग्दै राष्ट्रिय महिला आयोग पुगिन् । अधिवक्ता तारा श्रेष्ठसँगको परामर्शमा बसन्त र दुर्गाबीच विवाह दर्ता र हेरचाहको कागजी सहमति भयो । ‘अहिले सहमति कागजमै सीमित छ । न उसले त्यसपछि मलाई कुनै वास्ता गर्यो न विवाह दर्ता नै । अहिले विभिन्न व्यक्तिमार्फत तनाव दिन छोडेको छैन ।’ छोडपत्रका लागि दबाब दिइरहेको दुर्गाले बताइन् ।

 

‘सुन्न त सुनेकी छु । वसन्त यहीँ कुसुन्तीमा दिदीको घरमा बस्छ भनेर । तर, मैले बुझेसम्म उ त्यहाँ बस्दैन । मोबाइल पनि परिवर्तन गरेको छ,’ उनले भनिन् । बसन्तले तनाव दिएपछि महानगरीय प्रहरी परिसर कार्यालय ललितपुरमा आफ्नो पीडा पोख्न गइन् दुर्गा । तर, प्रहरीको महिला सेलले यसअघि आयोगले हेरेको केश उतै मिलाउनु भनेर फर्काइदियो । फेरी उनि २०७५ मा महिला आयोगमा निवेदन दिन पुगिन् ।

छलफलमा बसन्त पनि आए तर जवाफ भने पुरानै आयो । हरेक पटक उनले बहाना बनाएर हिँडिरहे । यता दुर्गा भने खड्का टोलमै सानो खाजा पसल सञ्चालन गरेर आफ्नो जिवन चलाइरहेकी छन् । उनि भन्छिन्, ‘मैले माइतीले सहयोग गरेर किनेको जग्गा उसैको नाममा छ । मलाई त न सम्पति भयो न माया । अहिले यसरी बस्नुपरेको छ जिन्दगीले नमिठो चोट दियो ।’

अहिले माईतीपक्षबाट भने राम्रो सहयोग भएको उनि सुनाउँछिन् । उनी भन्छिन्, ‘धेरै नारीहरूलाई मर्न बाध्य बनाइन्छ तर, केही साहसी नारीहरुमात्र प्रतिकारमा उत्रन्छन् । अर्को कुरा मरी सकेपछि मात्र दोषी देखाइन्छ । मार्न खोज्ने पुरुषहरू खुलेआम छाती फुलाएर समाजमा हिडिरेका छन् । त्यो देख्दा चाहिँ अलि दुख लाग्छ ।’

महिला आयोगले पनि पीडितको उजुरीउपर खासै चासो नदिएको उनले दुखेसो पोखिन् । महिला आयोगमा दुईपटक उजुरी दिँदासमेत समाधान नभएको उनको गुनासो छ । उनि भन्छिन् ‘पीडा दिनेहरु खुलेआम हिँड्दा पीडितसँग डराएर बस्नुपरेको छ । न्याय पाइने आशा नै मरेको छ भाइ ।’

यता आयोगले भने पिडामा परेका महिलाहरुलाई कानुनी रुपमा सहयोग गरिरहेको दाबी गरेको छ । आयोगका प्रवक्ता श्याम प्रसाद श्रेष्ठकाअनुसार गत वैशाखदेखि असार मसान्तसम्म राष्ट्रिय महिला आयोगमा एक हजार १४५ हेल्प लाइनमार्फत ३४८ वटा महिला हिंसाका घटना दर्ता भएका छन् । तीन महिनाको अवधिमा सातै प्रदेशबाट उक्त सङ्ख्यामा लैङ्गिक हिंसाका उजुरी हेल्प लाइनमार्फत दर्ता भएका हुन् ।

सात प्रदेशमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा २४३, लुम्बिनी प्रदेशमा २१, गण्डकीमा १६ र प्रदेश २ मा २४ वटासहित सात प्रदेश र १२ वटा प्रदेश नखुलेको हिंसाका घटना दर्ता भएको आयोगका सचिव मनोजकुमार आचार्यले जानकारी दिए ।त्यसमध्ये सबैभन्दा धेरै ३३१ वटा मानसिक हिंसाका, कुटपिटका २०५ र आर्थिक हिंसाका १७३ वटा घटना दर्ता भएका छन् । त्यसैगरी विवाह दर्ताका समस्या ३३ वटा, जन्मदर्ताका २०, यौन दुव्र्यवहारका १५, बलात्कारका ११ वटा घटना आयोगमा दर्ता भएको जनाइएको छ ।