दूर्गा प्रसाईंलाई कानुनी फन्दा, राजनीतिक आडमा मात्तिएपछि मुद्दै–मुद्दा

दूर्गा प्रसाईंलाई कानुनी फन्दा, राजनीतिक आडमा मात्तिएपछि मुद्दै–मुद्दा


काठमाडौं – जतिबेला तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको कुरा चलिरहेको थियो, त्यतिबेला एकाएक चर्चामा आएको नाम हो दूर्गा प्रसाईं ।
दुवै पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सँगै राखेर मार्सी चामलको भात खुवाइरहेको तस्वीर सार्वजनिक भएपछि प्रसाईंको ‘पावर’बारे चर्चा चल्यो । यसबीच उनले खोल्न चाहेको मेडिकल कलेज र डा. गोविन्द केसीको अनशनसँग जोडिएको विवादमा पनि उनी तानिए ।

प्रसाईंको राजनीतिक आड सार्वजनिक भएपछि उनी सञ्चारमाध्यम र सामाजिक सञ्जालको आँखामा परिरहे । यसैबीच केही दिनअघि उनले विवादास्पद बयान दिँदै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले आफूसँग २० करोड घुस मागेको सार्वजनिक अभिव्यक्ति दिए ।घुस मागेको खुल्ने स्पष्ट प्रमाण विना नै प्रसाईंले आरोप लगाएपछि उनी कानुनी फन्दामा परेका छन् । जिल्ला प्रशासन कार्यालय भक्तपुरले उनको नाममा पक्राउ पूर्जी जारी गरेको छ भने जिल्ला अदालत काठमाडौंले उनलाई उपस्थित हुन म्याद दिएको छ ।

राजनीतिको आडमा मात्तिएर जथाभावी अभिव्यक्ति दिँदै आएका प्रसाईं कानुनी अल्झनमा परेका छन् । उनीले अब भक्तपुर प्रशासन र काठमाडौं अदालतमा मुद्दाको झमेलामा पर्नुपरेको छ ।बीएण्डसी अस्पताल सञ्चालक गरेका प्रसाईंलाई पक्राउ गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट अनुमति पाएको छ भने प्रहरीले उनको खोजी गरिरहेको छ । उनी प्रहरीको सम्पर्कमा नआएपछि फरार करार भएका छन् ।

मेडिकल कलेजको सम्बन्धनका लागि निवेदन पेश गर्दा लागि उपाध्यक्ष गिरीले २० करोड घुस मागेको आरोप प्रसाईंले लगाएपछि उनीविरुद्ध गिरीले अभद्र व्यवहारको मुद्दा प्रशासन कार्यालयमा दर्ता गराएका थिए । प्रसाईंले गुण्डागर्दी गरेर असुरक्षित महसुस भएको भन्दै गिरीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन दिएका छन् । प्रसाईंलाई प्रहरीले भक्तपुर र झापामा खोज्दा पनि नभेटिएको र उनको मोबाइल फोन ‘अफ’ रहेको प्रहरी स्रोतले जनाएको छ ।

यसै प्रकरणमा जिल्ला अदालत काठमाडौंमा परेको मुद्दाको कारवाही प्रक्रिया अगाडि बढाउँदै अदालतले प्रसाईंलाई लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई लिखित जवाफसहित २१ दिनभित्र अदालतमा हाजिर हुन बिहीवार आदेश दिएको छ । प्रसाईंले लगाएको आरोपका कारण गाली बेइज्जती र मानहानी भएको दाबी गर्दै डा. गिरीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए ।

काठमाडौंको द्वारिका होटलमा डा. गिरीले आफूसँग मंसिर १५ गते घुस मागेको प्रसाईंको दाबी रहेको छ । ‘मैले माथिका नेतालाई पनि रकम बुझाउनुपर्छ भन्दै २० करोड मागियो । मैले सम्पत्ति शुद्धीकरण लगायतले गर्दा बैंकको पैसा यताउति गर्न मिल्दैन । १०–२० लाख वा एक करोडसम्म भनेको भए बैग्ले कुरा हो । यत्रो पैसा चलाउन सक्दैनौं भनें,’ उनले पत्रकार सम्मेलनमा भनेका थिए । कानुनी फन्दामा परेका प्रसाईंले अब राजनीतिक आडमा संरक्षण पाउँछन् कि प्रक्रिया अनुसार प्रहरी थुनामा पुग्छन् ? यो भने हेर्न बाँकी छ ।