दुर्गा प्रसाईंलाई काठमाण्डु ल्याइयो, अदालत लैजाने तयारी

दुर्गा प्रसाईंलाई काठमाण्डु ल्याइयो, अदालत लैजाने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राजावादी आन्दोलनका कमाण्डर भनिएका दूर्गा प्रसाईंलाई प्रहरीले झापाबाट काठमाण्डु ल्याइएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर झापको चन्द्रगढीबाट शुक्रबार काठमाडौं ल्याएको हो ।

उनीसँगै उनका अंगरक्षक दीपक खड्कालाई पनि पक्राउ गरेर काठमाण्डु ल्याइएको छ । दुवै जनालाई बुद्ध एयरको विमानबाट काठमाण्डु ल्याइएको हो ।

राजावादीहरूले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरिएको हो ।

प्रसाईं चैत्र १५ गते तीनकुनेको राजावादीको प्रदर्शनस्थलबाट फरार भएका थिए । प्रहरीको टोली प्रसाईंलाई खोज्न केही दिन अगाडि भारत गएको थियो ।

प्रसाईंलाई काठमाण्डु ल्याउने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिडभाड भएको छ । प्रसाईंका समर्थकसहित सर्वसाधारण तथा सञ्चारकर्मीहरूको भिडभाड लागेको हो ।

प्रसाईंलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लैजाने प्रहरीको तयारी छ । प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले राज्यविरुद्ध र अभद्र व्यवहारको कसूरमा अनुसन्धान गर्न प्रसाईंलाई म्याद थपका लागि अदालत लगिने जानकारी दिए ।

प्रहरीले प्रसाईंविरुद्ध राज्यविरुद्ध र अभद्र व्यवहारको कसूरमा मुद्दा दर्ता गरेको छ । सोही कसूरमा अनुसन्धान गर्न प्रसाईंलाई अदालत लैजाने तयारी छ ।

प्रदर्शनमा आन्दोनकारीहरूलाई उक्साएर विध्वंशकारी घटना घटाएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र,महामन्त्री धवलशमशेर राणा प्रहरी हिरासतमा छन् । उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधको कसूरमा मुद्दा चलाइएको छ ।

तीनकुनेमा राजावादीले गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा दुईजनाको मृत्यु भएको थियो भने सुरक्षाकर्मीसहित १३० बढी घाइते भएका थिए ।