दुर्गा प्रसाईंमाथि लाग्दैछ यी मुद्दा

दुर्गा प्रसाईंमाथि लाग्दैछ यी मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंविरुद्ध प्रहरीले मुद्दा चलाउने तयारी अघि बढाइएको छ ।

प्रसाईंले तीनकुने प्रदर्शनमा आफैंले चलाएको गाडीले प्रहरीलाई पेल्दै अघि बढेका थिए । अश्लिल शब्द बोल्दै सुरक्षामा खटिएका प्रहरीलाई पेल्दै हिँडेको भिडियो सार्वजनिक भएको थियो ।

प्रहरीका अनुसार उक्त भिड नियन्त्रणमा खटिएका केही प्रहरीले नै प्रसाईंविरुद्ध जाहेरी दिने तयारी छ । प्रसाईंलाई शुक्रबार नै म्याद थप गर्ने तयारी भइरहेको छ । अहिले प्रहरीले म्याद थपका लागि आवश्यक कागजात तयार गरिरहेको छ ।

भारतको आसामबाट नियन्त्रणमा लिएर प्रहरीले उनलाई झापाको भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याएको छ । उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको हो । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ ।

चैत १५ को प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो भने केही अझै घाइते अस्पतालमै छन् । प्रदर्शनकारीले तीनकुने क्षेत्रका केही निजी र सरकारी संरचनामा आगजानी र तोडफोड पनि गरेका थिए । प्रदर्शनपछि फरार रहेका प्रसाईंलाई बिहीबार राति प्रहरीले भारतबाट पक्राउ गरेको थियो ।

पक्राउपछि भद्रपुर विमानस्थलमा प्रसाईले आफू नआत्तिएको बताएका छन् । पत्रकारलाई प्रतिक्रिया दिँद उनले आफू नआत्तिएको र यो तस्करविरुद्धको लडाइँ भएको बताए ।

उनले आफूलाई प्रहरीले पक्राउ गरेको नभई आफैँ गिरफ्तारी दिएको पनि दाबी गरे ।

कुन-कुन कसुर लाग्ने छ ?

प्रसाईंमाथि चार कसुरमा अनुसन्धानको तयारी प्रहरीले अघि बढाएको छ । प्रदर्शनकारीलाई हिंस्रक बन्न उचालेका प्रसाईं प्रहरीलाई नै किच्ने गरी गाडी कुदाएर भागेका थिए । प्रहरीमाथि नै गाडी कुदाएकोले उनीमाथि ज्यान मार्थे उद्योगमा अनुसन्धान अघि बढाइँदैछ ।

प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेको घटनालाई लिएर उनीमाथि संगठित अपराधको मुद्दामा पनि अनुसन्धान गरिनेछ । उनी प्रदर्शनकारीको कमान्डर रहेको कारणले यसको निर्देशक उनी भएको आरोप छ । प्रदर्शनकारीले निजी घर र जडीबुटी कारखानामा आगजनीसमेत गरेका थिए ।

यस्तै, उनीमाथि आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा पनि अनुसन्धान अघि बढ्ने छ । प्रदर्शनका क्रममा भएको लुटपाटको घटनामा उनीमाथि चोरी डकैतीको मुद्दा पनि लगाउने तयारी छ ।

यसअघि सोही प्रदर्शनमा सहभागी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा. धवलशम्शेर राणासहितलाई आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा अनुसन्धान जारी छ ।

उनलाई नेपाल ल्याउन नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको सुरक्षा स्रोतले जनायो । तर प्रहरीले भने प्रसाईंलाई झापाको भद्रपुरबाट पक्राउ गरिएको दाबी गरेको छ ।