काठमाडौं – बिएण्डसी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईं प्रहरीको फरार सूचीमा रहेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरले प्रसाईंलाई फरार सूचीमा राखेको हो ।
चिकित्सा शिक्षा आयोग उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले अभद्र व्यवहार गरेको आरोप लगाउँदै माघ १ गते प्रसाईंविरूद्ध महानगरीय प्रहरी परिसर भक्तपुरमा जाहेरी दिएका थिए । जाहेरीपछि प्रशासनले प्रसाईंविरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।
प्रहरी परिसर भक्तपुरका प्रवक्ता दिपक गिरीले प्रसाईं फरार रहेकाले प्रहरीले खोजी कार्य जारी राखेको प्रतिक्रिया दिए । प्रहरी नायब उपरीक्षक गिरीले प्रसाईंलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको जानकारी दिए ।
‘उहाँविरुद्ध पक्राउ पूर्जी जारी भएलगत्तै हामीले खोजी गरिरहेका छौं । अहिले उहाँ फरार हुनुहुन्छ । भेटिनासाथ पक्राउ गरेर आवश्यक अनुसन्धान गर्छौं’, उनले भने ।
उक्त पक्राउ पूर्जीमाथि उत्प्रेषण परमादेश माग गर्दै प्रसाईंले वारेसमार्फत सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।प्रसाईंलाई पक्राउ गर्नुपर्ने जवाफ पेश गर्न सर्वोच्च अदालतले भक्तपुर प्रशासनलाई आदेश दिएको छ ।
आशयपत्र पाइसकेको आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया थाल्न निवेदन लिएर जाँदा आयोग उपाध्यक्ष गिरीले होटल द्वारिकाजमा बोलाएर २० करोड रूपैयाँ मागेको आरोप प्रसाईंले लगाएका थिए । गिरीले आफूलाई बदनाम गराएको भन्दै प्रसाईंविरूद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा हालेका थिए ।




प्रतिक्रिया