काठमाण्डु – व्यवसायी दुर्गा प्रसाईंले पुष्पकमल दाहाल प्रचण्डले पछुताउने दिन आउने बताएका छन् ।
झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन समारोहमा बोल्दै प्रसाईंले जनमञ्चबाट तिरस्कृत हुँदैहुँदै जनयुद्ध र जनआन्दोलन नदेखेका काजीको पछि लाग्दा जनताले घर न घाटको बनाईदिने बताएका हुन् ।
‘प्रचण्ड’जी यो मञ्च अपुरो छ । तपाईं नेपाली जनताको मनमा विराजमान हुनुपर्ने हो । तर जनमञ्चबाट तिरस्कृत हुँदै जनयुद्ध र जनआन्दोलन नदेखेका काजीको पछि लाग्नुहुन्छ भने जनताले तपाईंलाई माइतीघरभन्दा धेरै पर हुत्याएर घर न घाटको बनाउने छन्, तपाईं पछुताउनु हुनेछ,’ उनले भने, ‘काजी सापहरूले राज्यसत्ताको तर मारेको जनताले रुचाएका छैनन् । विचार गर्नुहोला प्रचण्डजी ।’
तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाएर चर्चा कमाएका प्रसाईंले प्रचण्डलाई फरक बाटो नहिँड्न समेत आग्रह गरे ।
‘के कारणले फरक बाटो हिँड्दै हुनुहुन्छ ? म जस्ता कार्यकर्ता र शुभचिन्तकलाई धोका दिने कुरा ठिक होइन,’ प्रसाईंले भने ।
व्यवसायी प्रसाईंले सञ्चालनमा ल्याएको अस्तपालको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गरेका हुन् ।




प्रतिक्रिया