काठमाण्डु – गायक दुर्गेश थापाले अमेरिकाका विभिन्न शहरमा सांगीतिक प्रस्तुति दिने भएका छन् ।
मंगलबार उनी अमेरिका उडेका छन् । अमेरिकाका विभिन्न ११ शहरमा उनको कार्यक्रम तय भइसकेको छ । थापा पहिलोपटक अमेरिका गएका हुन् ।
थापाको पहिलो कार्यक्रम आगामी शुक्रबार अस्टिन टेक्सासबाट सुरु भएर २२ नोभम्बरमा डल्लास टेक्सासमा पुगेर सकिनेछ ।
उनले न्यूयोर्क बाल्टिमोड, कोलम्बस, कोलोराडो लगायतका ठाउँमा ११ स्टेजमा प्रस्तुति दिने आयोजकले जानकारी दिएको छ ।
दुर्गेश टुर आरएनआर ग्रुप्स एलएलसीबाट रोशन पुरी, पाण्डे होम्स एलएलसीबाट गणेश पाण्डे र एकेबी कम्पनी एलएलसीबाट अशिष भडेलले आयोजना गरेका हुन् । पिस एण्ड ब्युटी नामक गैरनाफामुखी संस्थाले साझेदारी गरेको छ ।
अग्रिम टिकटका लागि पनि आयोजकले आग्रह गरेको छ । आयोजकले दुर्गेशको यो पहिलो अमेरिका टुर भएकाले पनि दर्शकको उल्लेख्य उपस्थिति हुने अपेक्षा राखेको छ ।
आयोजकमध्येका एक रोशन पुरीका अनुसार पहिलोपटक अमेरिकामा रहेका नेपालीहरूमाझ दुर्गेशलाई ल्याउन पाउँदा खुसी लागेको र फरक–फरक ठाउँका नेपालीलाई एकै स्थानमा भेला गराउन पाउने बताए ।
कार्यक्रममध्ये १ नोभम्बरमा भर्जिनियामा हुने कार्यक्रममा गायिका मेलिना राईको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ । मेलिनाले भिडिओ सन्देश दिँदै १ नोभेम्बरमा भेटौं पनि भनेकी छन् ।




प्रतिक्रिया