काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज शनिबार दिउँसो बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयको गत कात्तिक २८ गतेको बैठकमा आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ पेश गर्नेछन् ।
यसअघि यही मङ्सिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनलाई १० दिनको समय दिएको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने बताएका थिए । आरोपपत्रको आदानप्रदान तथा तल्लो कमिटीमा वितरण गरिएकाले पार्टी विभाजनमा जान सक्ने त होइन भन्ने प्रश्न उत्पन्न भइरहेका बेला आज बस्ने सचिवालय बैठक र प्रधानमन्त्रीको जवाफलाई चासोका साथ हेरिएको छ ।
अघिल्लो बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथिका आरोप बदर हुनुपर्ने या त्यो सही नठहरिएमा आरोप लगाउनेले त्यसको जिम्मेवारी र जवाफदेहिता लिनुपर्ने तर्क गरेका थिए । पार्टीका अधिकांश स्थायी कमिटी र केन्द्रीय कमिटीका सदस्य पार्टीको अन्तरिम विधान, एकता र सहमतिका पक्षमा रहेका छन् ।
गत सचिवालय बैठकले स्थायी कमिटीको बैठक यही मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने निर्णय गरेकाले शीर्ष तहको विवाद सचिवालयमा मिल्न नसकेमा ती निकायका बैठकमा प्रवेश हुनेछन् । पछिल्ला समय मन्त्रिपरिषद्मा हेरफेर, राजदूुत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्यकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न हुँदै आएको छ ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा एकता भई निर्मित नेकपाको एकतापछि आगामी चैत २५ देखि ३० गतेसम्म पहिलो महाधिवेशन हुन लागेकाले नीति, विचार र नेतत्वबारे बहस शुरु भएको हो ।




प्रतिक्रिया