काठमाडौं प्रेससँग हाम्रो कुनै सम्बन्ध छैन्ः ई–सेवा


काठमाडौं – भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले काठमाडौं प्रेससँग कुनै सम्बन्ध नरहेको जनाएको छ । कम्पनीले सो अनलाइन पोर्टलको समाचार हटाइएको विषयमा ई–सेवालाई मुछिएको दाबी गर्दै कम्पनीमाथि प्रहार भएकोमा खेद प्रकट गरेको विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र ई–सेवाको कुनै सम्बन्ध नरहेको अवस्थामा नियोजित रूपमा ई–सेवा माथि निरन्तर प्रहार गर्ने कार्य कुनै किसिमले न्यायोचित छैन ।’

ई–सेवाले भनेको छ, ‘हामी नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त र नियमन भएको कम्पनी हौं । हाम्रो संरचना, प्रविधि तथा सेवाहरु नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणमा हुन्छ ।’

कम्पनीले ग्राहकलाई भुक्तानी सेवा दिने हुनाले यसको लागि आवश्यक पर्ने प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्न आफू अत्यन्त संवेदनशील र प्रतिवद्ध रहेको बताएको छ । कम्पनीको गोपनियता नीति तथा प्रयोगका सर्त वेवसाइटमा उल्लेख गरेको र यसको अक्षरशः पालना गरेको कम्पनीले दाबी छ ।

ई–सेवाले विभिन्न अनलाइनमा आएका समाचार, सामाजिक सञ्जालमा नियोजित रुपमा फैलाइएका अफवाह तथा दुश्प्रचारका पछि नलाग्न ग्राहक, एजेन्ट, सेवा प्रदायक र बैंक तथा वित्तीय संस्थालाई अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement