फिलिपिन्समा ६.६ म्याग्निच्यूडको भुइँचालो, सात जनाको मृत्यु


एजेन्सी – फिलिपिन्समा ६.६ म्याग्निच्यूडको भुइँचालो गएको छ । दक्षिणी टापु मिन्डानाओको मध्यक्षेत्रमा मंगलबार बिहान उक्त भुइँचालो गएको हो ।

अहिलेसम्म कम्तीमा सात जनाको ज्यान गएको छ । रोयटर्स समाचार एजेन्सीका अनुसार भग्नावशेषमुनि पुरिएका ७ वर्षे बालक र उनका ४४ वर्षे बाबुको उद्धार क्रममा मृत्यु भएको छ ।

अधिकारीहरूले भुइँचालोमा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् । भुइँचालोले धेरै घरहरूमा चिरा पर्नुका साथै खम्बाहरू ढलेर बिजुली आपूर्ति बन्द भएको छ ।

राष्ट्रपति रोड्रिगो डुटर्टेको गृहजिल्ला डाभो सहरमा पनि बिजुलीका तारहरू अस्तव्यस्त भएका छन । भुइँचालोको धक्कापछि स्थानीयहरू घरबाट निस्केर खुला सार्वजनिक स्थलहरूमा जम्मा भएका छन् ।

पछिल्लो दुई सातामा यो दोस्रो कम्पन हो। यसअघि अक्टोबर १६ मा ६.३ म्याग्निच्यूडको भुइँचालो जाँदा ७ जनाको ज्यान गएको थियो भने दुई सयभन्दा बढी घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement