मौसमी फ्लू : बालबालिकादेखि ठूलासम्म मारमा

मौसमी फ्लू : बालबालिकादेखि ठूलासम्म मारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पछिल्ला केही दिनयता रुघाखोकी र ज्वरोसहितका समस्याले सताएर बालबालिकादेखि वृद्धवृद्धासम्म समस्यामा परेका छन् ।

यसते बेला बढी सतर्कता अपनाउन उनीहरूको सुझाव डाक्टरहरूको छ ।

महाराजगन्जस्थित कान्ति बाल अस्पतालका डा. सुमित अग्रवालका अनुसार हाल दैनिक आउने गरेका बिरामीमध्ये आधा जति उक्त समस्या मौसमी फ्लू भएका बिरामी हुने गरेका छन् । यो समस्यासँगै पछिल्ला दिनहरूमा निमोनिया भएका बच्चाहरू पनि बढिरहेका छन् ।

नेपालमा खास गरी फेब्रुअरी–मार्च अनि जुलाई–अगस्टतिर फ्लूको सङ्क्रमण बढी देखिन्छ । तर अहिले देखिएका ज्वरो, रुघाखोकी लगायतका कारण एउटा मात्र नहुने डाक्टरहरू बताउँछन् ।

उष्ण क्षेत्रमा पर्ने देशहरूमा भने त्यस्तो समस्या बाह्रै महिना पनि हुने गर्छन् । तर नेपालमा यति बेला बढी देखिनुको कारण भाइरस सक्रिय हुनका लागि सक्रिय समय हो भने जाडो कम हुँदै जाँदा ‘आउटडोर’ गतिविधि बढी हुने भएर पनि फैलिन्छ ।

जनस्वास्थ्यविद् डा. शरद्राज वन्त नेपालमा बोलीचालीको भाषामा ‘सिजनल फ्लू’ भन्ने गरिए पनि प्राविधिक रूपमा त्यो ‘भाइरल इन्फेक्शन’ भएको बताउँछन् ।

उनका अनुसार वातावरणमा जतिखेर भाइरसहरूको घनत्व बढी हुन्छ, त्यतिखेर त्यसले बढी आक्रमण गर्छ । ‘मौसम बदलिँदा वातावरण अलि फरक हुन्छ र हाम्रो व्यवहार पनि फरक हुन्छ । गर्मीमा तुलनात्मक रूपमा हामी बढी ‘एक्स्पोज’ हुन्छौँ । त्यो हिसाबले सम्पर्कमा बढी आउँछौँ । त्यो बेला भाइरसहरूको घनत्व बढी भएको हुन सक्छ’ डा. वन्त भन्छन् ।

तर केवल मौसम परिवर्तनले नै त्यो समस्या निम्तिने गरेको भन्न नसकिने उनको तर्क छ । उनका अनुसार यो ‘इन्डेमिक’ हो र वातावरणमा रहिरहन्छ अनि सङ्क्रमण बढ्छ ।

लक्षण ?

मौसमी फ्लू हुँदा सामान्यतया ज्वरो आउने, जीउ दुख्ने र खोकी लाग्ने गर्छ ।

बालबालिकामा बान्ता हुने र कसैकसैलाई पखाला पनि लाग्ने हुन्छ । त्यस्तै घाँटी दुख्ने र चिलाउने समस्या पनि हुन्छ । तर सङ्क्रमण कुन तहको छ त्यसमा त्यसमा पनि लक्षणहरू भर पर्छ ।कतिपयलाई ज्वरोसँगै जीउ दुख्ने र कमजोरी महसुस पनि हुन्छ । रोगप्रतिरोधी क्षमता कम हुने उमेर समूहका मानिसमा कडा असर हुन सक्ने चिकित्सकहरू बताउँछन् ।

कसरी जोगिने ?

कुनै पनि श्वासप्रश्वाससम्बन्धी समस्या भएका तथा रुघाखोकी लागेका मानिसलाई अरूदेखि टाढै राख्नुपर्छ । त्यसैले सङ्क्रमण देखिने बेला सकेसम्म भिडभाडमा नजान चिकित्सकहरू सुझाउँछन् ।

जानै परेमा मास्क लगाएर जानुपर्छ । भौतिक दूरी राख्नुपर्छ र सङ्क्रमित व्यक्तिले आफूलाई आइसोलेशनमा एक्लै राख्दा राम्रो हुन्छ । स्यानिटाइजरको प्रयोग गर्ने र बाहिर गएर घर आएपछि साबुनपानीले मिचिमिची हात धुन पनि डाक्टरहरूको सल्लाह छ ।

चिकित्सकहरूका अनुसार सामान्तया हप्तादिनमा अहिले देखिएजस्तो सङक्रमण ठिक हुने गरेको पाइन्छ । जटिलता नभए सामान्यतया एक हप्तामा निको हुन्छ । तर लम्बिने प्रवृत्ति पनि देखिँदै छ ।

कहिलेकाहीँ लम्बियो भने दुई हप्तासम्म पनि जान सक्छ । दीर्घरोगी, बालबालिका र ज्येष्ठ नागरिकमा लक्षणहरू देखिएमा तुरुन्त चिकित्सकलाई देखाउन डाक्टरहरूको सुझाव छ । मौसमी फ्लूको विशेष औषधि हुँदैन । यद्यपि सङ्क्रमित मान्छेमा लक्षण हेरेर थप जटिलता हुन सक्ने देखिएमा औषधोपचार गरिन्छ ।