अर्थतन्त्रका चार बिधेयक एकै पटक पारित

अर्थतन्त्रका चार बिधेयक एकै पटक पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकले पाँच विधेयक सर्वसम्मतिले पारित गरेको छ। सभाको बैठकले सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक २०७५, नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक २०७५, लेखापरीक्षण विधेयक २०७५, जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५ र विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक २०७५ सर्वसम्मतिले पारित गरेको हो।

यसैगरी प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक २०७५ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनःपारित गरिएको छ। बैठकले उक्त विधेयक सर्वसम्मतिले पुनःपारित गरेको हो। बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त संशोधन स्वीकार गरी पुनःपारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उनले नै ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) र ‘लेखापरीक्षण विधेयकसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। कृषि तथा पशुपक्षी विकासमन्त्रीका तर्फबाट डा खतिवडाले नै ‘जीवनाशक विषादी व्यवस्थापन विधेयकसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयकसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। रासस