काठमाडौँ— आर्थिक विधेयक २०७६ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकले विनियोजन विधेयक २०७६ को आंगिक विधेयक मध्येको आर्थिक विधेयक २०७६ लाई बहुमतले पारित गरेको हो।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक विधेयक २०७६ लाई पास गरियोस् भनी गरेको प्रस्तावलाई बहुमतले पारित गरेको हो।
आर्थिक विधेयक, २०७६ माथिको छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफमा अर्थमन्त्री डा युवराज खतिवडाले आयआर्जन गर्ने सबैलाई स्थायी लेखा नम्बर ९प्यान० को दायरामा ल्याउने नीति सरकारले लिइएको बताए। उनले आन्तरिक अर्थतन्त्रलाई बलियो बनाउँदै अप्रत्यक्ष राजश्व प्रणालीलाई प्रत्यक्षमा लैजाने गरी कर नीति निर्धारण गर्ने बताए।
समान आम्दानी हुनेले समान कर तिर्नुपर्छ भन्ने प्रगतिशील कर नीति भएको उल्लेख गर्दै उनले कुनै वर्ग विशेषलाई करमा छुट दिनेभन्दा समानरुपमा कर उठाई विपन्न वर्गलाई अनुदान दिने बाटो सरकारले लिएको जानकारी दिए।
मूल्य अभिवृद्धि करमा नक्कली बिलविजक पेश गर्नेलाई कारवाहीको दायरामा ल्याइने अर्थमन्त्रीको प्रतिबद्धता थियो । ऋण लिएर सबै कुरामा निःशुल्क गर्न नसकिने भएकाले अहिले गर्ने उपभोग अहिले नै करबाट उठाउने नीति लिएको उनले प्रष्ट पारे। “प्रदूषण कर नलगाउन विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने नीति लिइएको छ, क्यासिनोमा नेपालीलाई प्रवेश निषेध गरिएकाले बन्द गर्नु पर्दैन, पर्यटन प्रवद्र्धनका लागि पनि क्यासिनो आवश्यक छ”, उनले भने।
सामुदायिक शिक्षण संस्थाले मात्र सवारी खरीद गर्दा अन्तःशुल्क छुट पाउने व्यवस्था गरिएको उनले सुनाए। कुनै पुस्तक पसलमा किताब किन्न जाँदा मुनाफाबाटै छुट दिने गरिएकाले ज्ञानमा नभई पुस्तक पसलको कर उठाउने नीति लिएको मन्त्री खतिवडाले प्रष्ट पारे। ज्ञानका सामग्रीमा मुनाफा हुँदा कर तिर्ने व्यवस्था गर्न लागिएकाले १० प्रतिशतभन्दा बढी नलाग्ने उहाँले स्पष्ट पार्नुभयो । छिमेकी देशमा पनि पुस्तकमा १० प्रतिशत कर लाग्ने गरेको छ ।




प्रतिक्रिया