काठमाण्डु– निर्वाचन आयोगले उपनिर्वाचनको मत परिणाम दुई दिनभित्र आइसक्ने बताएको छ । आइतबार बिहानदेखि शुरू भएको मतदानको अन्तिम नतिजा सोमबार अबेरसम्ममा आइसक्ने आयोगले जनाएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर १७ गतेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको बताए । स्थानी राजनीतिक दलका प्रतिनिधिले सहयोग गरे सोमबार अबेरसम्ममा परिणाम सार्वजनिक गर्ने आयोगको भनाइ छ ।
आयोगले एउटा मात्रै केन्द्र रहेको वडामा मतदानलगत्तै मतगणना गर्ने योजना बनाएको छ । वडामा एकभन्दा बढी मतदान केन्द्र भएका स्थानमा भने मतपेटिका एकै ठाउँमा ल्याउनुपर्ने भएकाले मतगणना केही ढिलो हुनसक्ने छ ।
४१ पदका लागि मतदान जारी छ । उपनिर्वाचनले नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ जनालाई निर्वाचित गर्ने छन् ।
रिक्त ४४ पदमध्ये तीन पदमा भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचनको मतपरिणाम आयोगको वेबसाइटबाट हेर्न सकिने आयोगले जनाएको छ ।




प्रतिक्रिया