उपनिर्वाचनका लागि चैत्र २४ गते उम्मेदवारी दर्ता, यस्तो छ निर्वाचन कार्यतालिका

उपनिर्वाचनका लागि चैत्र २४ गते उम्मेदवारी दर्ता, यस्तो छ निर्वाचन कार्यतालिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले आसन्न उपनिर्वाचनका लागि चैत्र २४ गते उम्मेदवारी दर्ता हुने निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

इलाम जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (१) मा २०८१ वैशाख १५ गते उपनिर्वाचन हुने तय भएको छ ।

उपनिर्वाचनका लागि आयोगबाट आज सोमबार निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । स्वीकृत निर्वाचन कार्यतालिकाअनुसार फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगका सहायक प्रवक्ता तथा उपसचिव डा. थानेश्वर भुसालले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्नका लागि २०८० फागुन २४ गतेदेखि ३० गतेसम्मको म्याद दिई सूचना प्रकाशन गरिने जनाइएको छ ।

कार्यतालिकाअनुसार २०८० चैत्र २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मिति २०८० चैत्र २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । निर्वाचन कार्यक्रमअनुसार २०८० चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न वितरण गरिने सहायक प्रवक्ता भुसालले जानकारी दिए ।

चैत्र २८ गतेदेखि २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहनेछ । वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने जनाइएको छ ।