उपचुनावका लागि बझाङमा १२ जनाको उम्मेदवारी दर्ता

उपचुनावका लागि बझाङमा १२ जनाको उम्मेदवारी दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आगामी वैशाख १५ गते बझाङ १(१) मा प्रदेशसभा सदस्य पदको उपचुनावका लागि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन आयोगले तोकेको समयअनुसार आज शनिबार विभिन्न दल र स्वतन्त्र गरी १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालय बझाङका अनुसार उपचुनावका लागि नेपाली कांग्रेसका अभिषेक सिंह, नेकपा एमालेका दमनबहादुर भण्डारी र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय मातृभूमि पार्टीका तर्फबाट गजेन्द्रबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, नेशनल रिपब्लिक नेपाल पार्टीबाट कमल घर्तीमगर, जनता समाजवादी पार्टी (जसपा)का रामबहादुर जाग्री, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोरकुमार खड्का, नेकपा माओवादी केन्द्रका जनक बुढा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

जनमत पार्टीका सुशीला देवी विष्ट र नेपाली जनता दलका अशोक सुनारले पनि उमेदवारी दर्ता गराएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशसभा सदस्यमा उम्मेदवारी नदिने भन्दै मनोनयन दर्ता गराएन । सत्तारुढ गठबन्धनका दलहरूले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।

सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि प्रदेशसभा सदस्य पद रिक्त छ ।