निर्वाचन प्रणालीमा होइन, शासन गर्ने व्यक्तिमा समस्या छ : पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती

निर्वाचन प्रणालीमा होइन, शासन गर्ने व्यक्तिमा समस्या छ : पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले नेपालको निर्वाचन प्रणालीमा नभई शासन सञ्चालन गर्ने व्यक्तिमा समस्या रहेको बताएका छन् ।

संसदीय मामिला पत्रकार समाजले शुक्रबार काभ्रेमा आयोजना गरेको निर्वाचन प्रणाली सुधारको बहसबारे छलफल कार्यक्रममा उनले अब पूर्णसमानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने सुझाव दिए ।

शासन गर्ने दलका नेताहरूमा देखिएको समस्यालाई निर्वाचन प्रणालीमा देखिएको भनेर टार्न खोजिएको उनले बताए । निर्वाचनपूर्व गठबन्धन गर्ने तर सरकार गठनका बेला त्यसको ख्याल नगर्ने प्रचलन पनि नेताहरूमा देखिएको उनले बताए ।

उनले भने, ‘नेपालको निर्वाचन प्रणालीमा होइन, शासन सञ्चालन गर्ने व्यक्तिमा समस्या छ । अब निर्वाचन प्रणालीमा सुधार गर्ने हो भने पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्छ । पूर्ण प्रत्यक्ष निर्वाचन प्रणालीमा गयौं भने झन् असजिलो पर्छ ।’

पूर्ण समानुपातिक प्रणाली अपनाउँदा सरकार गठनका लागि बहुमत पुग्दैन भन्ने भाष्य पनि गलत भएको उप्रेतीले बताए । उनले भने, ‘पूर्णसमानुपातिक प्रणालीमा पनि बहुमत पुग्छ । यस प्रणालीमा एउटा भोट पनि खेर जाँदैन, बहुमत पनि पुग्छ ।’

प्रत्यक्ष निर्वाचन प्रणालीका कारण चुनाव खर्चिलो हुँदै गएको बताउँदै उनले प्रत्यक्ष निर्वाचन प्रणालीमा उम्मेदवारले खर्च गर्ने र उम्मेदवारसँग मतदाताले खर्चको आशा गर्ने गलत प्रवृत्ति रहेको बताए ।

उनले भने, ‘प्रत्यक्ष निर्वाचन प्रणालीमा उम्मेदवारले खर्च गर्छन् । समानुपातिक निर्वाचन प्रणालीमा राजनीतिक दलले खर्च गर्नुपर्ने भएकाले प्रत्यक्षमा जस्तो खर्चिलो हुँदैन ।’

उनले प्रदेश र संघीय सांसदको निर्वाचनको लागि थ्रेसहोल्ड समान हुनुपर्ने बताए । अहिले प्रदेश र संघीय संसद्को चुनावका लागि किन फरक–फरक थ्रेसहोल्ड राखेकाले कानून निर्माता र आयोगले स्पष्ट पार्न नसकेको उनले बताए ।